News

‘जनयुद्ध स्वीकार नगर्ने सूर्य थापालाई तत्काल बर्खास्त गरौँ’

‘जनयुद्ध स्वीकार नगर्ने सूर्य थापालाई तत्काल बर्खास्त गरौँ’

काठमाडाैँ – सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा भोजपुर जिल्लाका प्रतिनिधिसभा सदस्य सांसद् सुदन किरातीले सूर्य थापालाई प्रेस सल्लाहकारबाट बर्खास्त गर्न माग गरेका छन् ।

उनले थापालाई उनको पद र जिम्मेवारीबाट बर्खास्त गरिनुपर्ने बताउँदै जनयुद्धलाई स्वीकार गर्न नसक्ने भए पार्टी फुटाउन चुनौती समेत दिए। जनयुद्ध दिवस अर्थात् फागुन १ गतेको एक टेलिभिजनसँगको अन्तर्वार्तामा जनयुद्धको महिमा गाउन र जनयुद्ध दिवस मनाउनका लागि पार्टी एकता नगरेको अभिव्यक्ति थापाले दिएका थिए ।

शनिबार बिहान राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रमबाट किरातीले थापालाई त्यसको जवाफ फर्काउँदै कारबाही गर्ने माग गरेका छन् ।साथै उनले ‘जनतालाई ढाँटेर प्रधानमन्त्रीको श्रीपेच लगाउँदै शो’षणका निम्ति पार्टी एकता गरेको हो ?’ भनि प्रश्नसमेत गरे। 

उनले भने, ‘यो त अति भयो । त्यसो भए जनतालाई ढाँटेर प्रधानमन्त्रीको श्रीपेच लगाई राष्ट्रको शोषण गर्न मात्र पार्टी एकता गरेको हो ? जनयुद्धको स्वामित्व नलिने तर जनयुद्धले ल्याएको गणतन्त्र नेपालको बालुवाटारमा बसेर हुँकार छोड्ने ?’

‘सूर्य थापासँग मात्र होइन, अब यो बिषय पार्टी र प्रधानमन्त्रीसँग पनि जोडिन्छ । राँची लानुपर्ने मान्छेलाई सल्लाहकार बनाएर गल्ती भएकोप्रति प्रधानमन्त्रीले माफि माग्नुपर्छ र तत्काल त्यो जिम्मेवारीबाट सूर्य थापालाई बर्खास्त गर्नुपर्छ ।, 'उनले भने,'त्यसो नगरे देश, सरकार र पार्टीले गम्भीर क्षेति बेहोर्नु तयार हुनुपर्छ ।’

कार्यक्रममा किरातीले धैर्यताको सीमा टुट्न लागेको बताउँदै सहने शक्ति समाप्त भइसकेको समेत बताए । पार्टीको निर्णयअनुसार नेकपाले विभिन्न कार्यक्रमहरु आयोजना गरि फागुन १ लाई २५ औं जनयुद्ध तथा जनआन्दोलनका सहिद स्मृति दिवसका रुपमा मनाइरहँदा प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भने जनयुद्धको भारी बोक्न र महिमा गाउनका लागि पार्टी एकता गरेको होइन भन्ने विवादास्पद अभिव्यक्ति दिएका थिए ।

कडा स्वभावका मानिने थापा प्रधानमन्त्रीको सल्लाहकारमा हालै मात्र नियुक्त भएका हुन्। त्यसअघि उनको ठाउँमा डा कुन्दन अर्यालले कार्यसम्पादन गर्दै आएका थिए।

विशेष