News

बन्दुकसहित जग्गा खाली गराउन पुगे भूमाफिया, बस्तीमा त्रास

बन्दुकसहित जग्गा खाली गराउन पुगे भूमाफिया, बस्तीमा त्रास

जनकपुरधाम – प्रदेश नं. २ को सिरहा जिल्लामा भूमाफिया बन्दुक लिएर सुकुम्बासी पुगेपछि त्यहाँका स्थानीय तर्सिएका छन् ।  मिर्चैया नगरपालिका–५ मा रहेका सुकुम्वासी बस्ती खाली गराउन भूमाफिया बन्दुकसहित पुगेका हुन्।

भूमाफिया मिर्चैया नगरपालिका–५ का वीरेन्द्र साह पूर्व–पश्चिम राजमार्गअन्तर्गत मिर्चैया–५ को उत्तरपट्टि जीवा खोला छेउमा रहेको सुकुम्बासी बस्ती डोजर लगाएर खाली गराउन दुई नाले बन्दुकसहित पुगेका थिए ।

उक्त बस्तीमा ३८ घरपरिवार दलित पासवान, मुसहरलगायतका जाति बस्दै आएका छन् । भूमाफिया साह दुई नाले बन्दुकसहित पुगेको जानकारी पाएलगत्तै ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तु जैसवालले झडप हुन सक्ने भन्दै प्रहरी पठाएका थिए ।

अमिन ल्याएर र प्रक्रिया पुरयाएर  मात्र जग्गा खाली गराउने भन्ने सहमतिमा पुगेपछि घर नभत्काएको डिएसपी जैसवारले बताए । यता, जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार साहले बोकेको बन्दुकको लाईसेन्स भएको वा नभएको बारे केही नखुलेको हो । 

लाईसेन्स नभएको अवस्था उनलाई नियन्त्रणमा लिएर कारवाही गरिने सिरहाका डिएसपीले बताए । उनका अनुसार, हतियार सहित गएको तथा लाईसेन्स भएको वा नभएको भनेर अहिलेसम्म रिपोर्ट नगरेको बताइएको हो । लाईसेन्स नभए उनलाई कारवाही हुने जनाइएको छ । 

विशेष