चीनबाट नेपाली ल्याउन नेपाल एयरलाइन्सको जहाज आज जाँदै
काठमाडौँ। कोरोनाको डरले स्वदेश आउन चाहेका एक सय ८५ नागरिक लिन विशेष तालिमप्राप्त टोली शनिबार जहाज लिएर चीनको हुबेई प्रान्तको वुहान सहर जाँदै छ । आन्तरिक व्यवस्थापकीय प्रयास थालेको १३ दिनपछि सरकारले उद्धार गर्न लागेको हो ।
नेपाल वायुसेवा निगमको ३३०–२०० सिरिजको २७४ सिटे वाइडबडी जहाज अपराह्न ३ बजे त्रिभुवन विमानस्थलबाट उड्ने तालिका छ । साँझ ६:४५ मा वुहान पुग्ने र त्यसको दुई घन्टापछि नै काठमाडौं प्रस्थान गर्नेछ । नेपाली समयअनुसार आइतबार बिहान २:१५ मा नेपाल आइपुग्नेछ ।
बेइजिङस्थित नेपाली दूतावासले हुबेई प्रान्तका विभिन्न ठाउँमा रहेका नेपालीलाई वुहानमा जम्मा गर्ने प्रबन्ध मिलाइसकेको छ । ‘हुबेई प्रान्तका विभिन्न ठाउँबाट पाँचवटा बसमा हाम्रा नागरिक शनिबार साँझसम्म वुहान पुर्याउँदै छौँ र वुहानमा रहेकालाई पनि सामेल गरेर स्वदेश फर्काउँछौँ,’ दूतावासका उपनियोग प्रमुख सुशीलकुमार लम्सालले नयाँ पत्रिकासँग भने । लम्सालका अनुसार चीन सरकारले नेपाली जहाज वुहान जान र फर्किन अनुमति दिइसकेको पनि उनले बताए । यो समाचार आजको नया पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन।