'सात जन्मसम्म पनि मलाई समलिंगी नै भएर जन्मन मन छ': भूमिका श्रेष्ठ
काठमाडौँ। मलाई कहिल्यै बिहान नहोस् जस्तो लाग्थ्यो, रातको अध्यारोपन कहिल्यै नजाओस् जस्तो पनि । जब जब वातावरणमा उज्यालो छाउदै जान्थ्यो, मेरो संसारमा भने अन्धकारले डेरा जमाउन थाल्यो । प्रश्नै प्रश्नको अन्धकार । उत्तरविहिन अन्धकार । सबैको हाँसो र चासोको बिषय म अनि मेरो हाँसो हराएर बनेको अन्धकार ।
घाउचोट लाग्यो भने सजिलै निको हुन सक्छ । तर मनमा लागेको चोटले सहिनसक्नुको पीडा दिँदो रहेछ । मानिसले आफु खुसी बनाइदिएको नाम र पहिचानले वाक्क थिएँ म । उनीहरूले सोधेका हजारौं सवालहरूप्रति आफैं अनविज्ञ थिएँ । अन्जानमै मैले भगवानलाई हजारौं पटक प्रश्न गरेकी थिएँ कि, ‘भगवान गलत शरिरमा गलत आत्माको जन्म किन दियौ?’अरु मानिसको शरिर र मन एउटै हुन्छ, तर मेरो शरिर पुरुषको थियो र मन नारीको । म दुई ढुंगाको तरुलजस्तै थिएँ । न कैलाश हुन सक्थें, न समाजले मलाई भूमिका बन्ने स्वीकृति नै दिएको थियो ।
भूमिका श्रेष्ठ, लैंगिक तथा यौनिक अल्पसंख्यक अभियानता । आजभन्दा झन्डै ३२ बर्ष अघि भूमिका आमा नुँमायाँ श्रेष्ठको कोखबाट कान्छो छोराको रुपमा काठमाडौँको नैकापमा जन्मिनुभयो । घरमा छोरा जन्मिएकोमा बाबुआमा, भाई जन्मिएकोमा दाजुदिदी, भतिज जन्मिएकोमा काकाकाकी र गाउँमा फेरि एउटा पुरुषको आगमन भएकोमा सबै गाउँले खुसी थिए । तर जन्मदेखि नै कैलाश कैलाश थिएन, भूमिका थिई । जुन कुरा धेरै बर्षसम्म न समाजले बुझ्न सक्यो न भूमिकाले नै ।
बुझ्ने भएदेखि नै भूमिका केटीको हाउभाउ र नक्कल गर्न रुचाउनुहुन्थ्यो । केटीका लुगा लगाउने, केटीले खेल्ने खेल खेल्ने, मेकअप गर्ने, नाच्ने, गाउनेजस्ता क्रियाकलाप गर्दा उहाँलाई आनन्दको महसुस हुन्थ्यो । परिवारलाई भने उहाँले केटाकै क्रियाकलाप गरे हुन्थ्यो भन्ने थियो । उहाँले हाँस्दै भन्नुभयो, ‘मैले एक पटक बुबालाई पुतली किनिदिनुस् भनेर जिद्दी गरेकी थिएँ । तर बुबाले तँ केटा होस् भन्दै २० रुपैंया पर्ने पुतली नकिनेर ५० रुपैंया तिरेर भकुण्डो किनिदिनु भएको थियो ।’
उहाँको जीवनमा कैलाश र भूमिकाको द्वन्द त्यतिबेला पर्न थाल्यो, जतिबेला उहाँ बाल्यकालबाट किशोर अवस्थामा प्रवेश गर्न थाल्नुभयो । शारिरिकरुपमा केटा र मानसिकरुपमा केटी । ‘म को हुँ भन्ने प्रश्न मनमा हरेक दिन उठ्न थाल्यो । मनको आन्तरिक प्रश्नमा रुमलिएको मलाई समाजले पनि त्यही प्रश्न तेर्साउन थाले’ बिगत कोट्याउँदै भन्नुभयो । किशोर अवस्थामा प्रवेश गरेसँगै उहाँको जिन्दगीका चुनौतीहरू थपिन थाले । स्कुलमा उहाँलाई केटा साथीहरूसँग बस्न र केटाको शौचालय प्रयोग गर्न समेत असहज महसुस हुन थाल्यो ।
केटी साथीहरूसँग बस्दा शिक्षकले बलजफती केटासँगै बस्न लगाउनु हुन्थ्यो । केटासँग बस्दा उनीहरूले घरी चिमोट्ने, घरी जिस्काउने गर्थे । त्यसपछि मैले स्कुलको ट्वाइलेट प्रयोग गर्न समेत छाडिदिएँ’ यसो भन्दा उहाँका आँखामा आँसु टिलपिलाइसकेका थिए । उहाँले थप्नुभयो, ‘मैले त्यतिबेला पिसा रोक्नाले त्यसको असर अहिले शरिरमा देखापरेको छ । मेरो मृगौलामा पथ्थरी जमेको छ ।’ एउटा फरक पहिचान लिएर जन्मदा मानसिक असर त छँदै थियो । शारिरिकरुपमा समेत कति पीडा हुन्छ, उहाँको आँसुबाट केही अनुभव गर्न सकिन्थ्यो ।
स्कुल छाड्नु पर्ने बाध्यता
‘त्यतीबेला म कक्षा १० मा पढ्दै थिएँ । मलाई आफ्नो अनुहार लुकाएर हिंड्न मन लाग्थ्यो । ब्वाइज कट कपाल, अनुहारमा मेकअप अनि सर्ट, पाइन्ट लगाएको । मेरो गेट अप एकदमै फरक थियो । बाटोमा हिड्दा सबैले मलाई अजिव तरिकाले हेरिरहेका हुन्थे । बेला बेला त के भएछ मानिसलाई, कि आज म औधी राम्रो भएर पो हेरे कि भन्ने हुन्थ्यो । तर अर्कातिर मानिसले कुरा काट्न सुरु गरिहाल्थे । हिंजडा र छक्का भनेर ।’ उहाँले थप्नुभयो, ‘अझ ५÷६ वर्षको बच्चाले समेत यस्ता उपनाम दिएर बाटोमा हाँस्दा निकै निरिह महसुस हुन्थ्यो । मेरो कानले बारबार छक्का उपनाम सुन्नु नपरोस र कसैसँग भेट नहोस भनेर कोही नहिड्ने खेतको बाटो झाडी झाडी सडकसम्म पुग्थें ।’
समलिंगी भएकै कारण विचमा स्कुल छाड्नु परेको प्रसंग कोट्याउँदै भन्नुभयो ‘एसएलसी परीक्षा नजिकिंदै थियो, म भने पढाइमा ध्यान दिन खोज्थें तर मनमा त्यही कुरा खेल्थ्यो । जुन मैले न स्वीकार गर्न सक्थें न इन्कार नै ।’
पीडा भोग्नेलाई थाहा हुन्छ जीवनका गहिराइकोबारेमा । उहाँ पीडा खोतल्दै जानुभयो, ‘कक्षामा शिक्षकले नेपाली व्याकरण पढाउदै गर्दा स्त्रीलिङ्ग, पुलिङ्ग र नपुसकलिङ्ग भनेर पढाउनुहुन्थ्यो । स्त्रीलिङ्गमा महिला, पुलिङ्गमा पुरुष र नपुंसक लिङ्ग भन्दा सबै साथीहरूले मलाई नै हेर्ने गर्थे । बिद्यालय, समाज र जहाँ त्यहींबाट हरेक समय दुरव्र्यवहार मात्र भोग्न थालेपछि मैले चटक्क पढाई छाडेर घरमै बस्न थालें ।’
आत्महत्याको असफल प्रयास
सबैसँग लुकेर र भागेर कति दिन बस्न सकिन्छ र ? तर बिकल्पका बाटोहरू सकिएपछि मानिसले अन्तिम बाटो मृत्युलाई रोज्न बाध्य हुन्छ । उहाँका अप्ठ्यारा परिस्थितिहरू भनेर सकिएको थिएन । ‘बाटोमा हिंड्दा मलाई हेरेर नहाँस्ने सायदै कम थिए होला । मलाई पनि आमाले नै जन्माएकी थिइन् र अरुलाई पनि । मेरो शरीरमा पनि त्यही रगत बग्छ जस्तो अरुको बग्छ । म रुँदा र अरु रुँदा उस्तै आँसु आउछ । फरक के छ, आम मानिस र ममा ? म यही प्रश्नमा रुमल्लिन्थें । समाजले मलाई यति धेरै हिर्काउन थाल्यो कि त्यसको चोट सिधै मेरो मनमा गएर लाग्ने गथ्र्यो ।
संसारमा म मात्र एउटा यस्तो व्यक्ति हुँ, जो केटा वा केटी केही पनि हुन सकेन । जसको अरु पहिचान नै छैन । मेरो अस्तित्व नै छैन भने बाँच्नुको पनि के अर्थ ? यस्तै प्रश्नहरूले बारम्बार मनमा डेरा जमाउन थाले । त्यसैले मैले तीन पटकसम्म आत्महत्याको प्रयाश गरें । एक पटक डोरी किनेर घाँटीमा लगाएँ । झुन्डिनै लाग्दा आमाको याद आयो । जसले मलाई जीवनमा एउटा प्रश्नसम्म पनि गर्नु भएन । मलाई स्वतन्त्र भएर बाँच्ने अवसर दिनुभयो । मेरो मनको कुरा समेत बुझ्ने संसारको एकमात्र व्यक्तिलाई म कसरी दुःखी बनाउन सक्थें । बुबाको निधन भएपछि एक्ली हुनु भएकी आमाको साहारा कोही पनि छैन । म आमाकोलागि पनि बाँच्नु पर्छ भन्ने कुरा मनमा जाग्यो र हतपत डोरी फुकाएँ । र अब कहिल्यै यस्तो बिचार मनमा नल्याउने संकल्प गरें ।’
पहिचान खुलाएर टिक्ने सहारा
भूमिकाले समाज र आफूभित्र उब्जिएको प्रश्नहरूको त्यतिबेला जवाफ पाउनुभयो । जब उहाँ ब्लु डाइमण्ड सोसाइटी नामक संस्थामा आबद्ध हुनुभयो । एकदिन पशुपतिनाथ दर्शन गरेर फर्कंदै गर्दा भेटिनुभएका पिंकी गुरुङको सहायताले उहाँको जीवनको मोड परिवर्तन गर्न सहयोग मिल्यो । ‘म पिंकी गुरुङसागै ब्लु डाइमण्ड सोसाइटीमा पुगेपछि पो थाहा पाएँ । म जस्ता होइन, म भन्दा पनि फरक र मैले भन्दा धेरै दुःख भोगेका मानिसहरू हुँदा रहेछन् ।’उहाँले भन्नुभयो, ‘ब्लु डाइमण्डमा आउनु अघि ममात्र समस्यामा छु । संसारको फरक व्यक्ति म मात्र हुँ जस्तो लाग्थ्यो । त्यहाँ पुगेपछि थाहा पाएँ, मेरो जस्तै समस्या भएका मानिसहरू धेरै रहेछन । ती मध्ये पनि म सबैभन्दा भाग्यमानी सन्तान रहेछु जसलाई परिवारले समर्थन गरेको छ । ती मध्ये कतिलाई घरबाट बहिस्कार गरिदिएको, कतिले आफ्नो पहिचान समाजसँग लुकाएर बसेको, कतिले सामाजिक बहिस्कार खेप्नु परेको, जबर्जस्ती विवाह गरिदिएको, विवाहपछि सम्बन्ध विच्छेद र अन्त्यमा आत्महत्याबाट छुटकारा पाउने गरेको जस्ता धेरै पीडाहरू सुनें । अझ कतिपय फरक पहिचान भएका व्यक्तिहरूलाई परिवारले नै हत्या समेत गरिदिएको सुनें । सबैको समस्या सुनेपछि जीवन अमुल्य छ, केही गर्नुपर्छ भन्ने सहास जागेर आउन थाल्यो ।’
भूमिकाको जीवनको मोड त्यतिबेला परिवर्तन भयो, जतिबेला उहाँले नेपाल टेलिभिजनको ‘हाम्रो काठमाडौँ’ नामक कार्यक्रममा अन्तर्वार्ता दिनुभयो । ‘सबैजना लुकेर भागेर आफ्नो पहिचान खुलाउन डराउँथे । मैले हाम्रो समुदायकै समस्या अन्तर्वार्तामा पोखिदिएँ । त्यसपछि त के चाहियो र ? टेलिभिजनमा अनुहार देखाएपछि म गाउँको सानोतिनो सेलिब्रेटी नै भएँ । कतिले सकारात्मक त कतिले नकारात्मक प्रतिक्रिया दिन थाले । जे होस् म अगाडि आएँ र बोलें त्यसैमा गर्व लाग्छ,’ गर्वानुभुतिका भावहरु एनका अनुहारमा प्रष्टसंग देख्न सकिन्थ्यो ।
अनेकौ समस्या, अनवरत भिडन्त
ब्लु डाइमण्ड सोसाइटीमा आवद्ध भएपछि भूमिका नेपालका धेरै जिल्लाहरूसम्म पुग्नुभयो । आफ्नो मात्र समस्या देखेको र भोगेको उहाँले आफ्नोभन्दा हजार गुना समस्या भएका मानिसहरू भेट्दा अझै धेरै साहसी भएको बताउनु हुन्छ । दुख पीडा र समस्या सबै व्यक्तिलाई हुँदो रहेछ । सबैले आफूलाई पर्दा मेरो समस्या ठूलो भनेर सोच्ने रहेछन् । मैले पनि त्यही सोच्थें, उहाँले भन्नुभयो । ‘जब महिला, अपाङ्गता भएका, बालबालिका र गरिबीजस्ता थुप्रै समस्याहरू देखें तब महसुस गरें कि मानिस अनुसार समस्याको किसिम फरक हुने रहेछ । हामीलाई पहिचानको समस्या थियो । यो भन्दा घनघोर समस्या भएका व्यक्ति पनि बाँचिरहेका हुँदा रहेछन् ।’
लिङ्गी समुदायका मुद्धा, सवाल र समस्याहरू त्यती सहज छैनन् । समाजले हेर्ने दृष्टिकोण पनि त्यती सजिलै परिवर्तन गर्न सकिंदैन । भेदभाव अन्त्य भयो भनेर भन्न सक्ने अवस्था नै छैन । उहाँ भन्नुहुन्छ, ‘अस्पताल जाँदा महिला कि पुरुष भन्ने प्रश्न आउँछ । हामीलाई राख्ने वार्ड छैन भन्दै फिर्ता पठाइन्छ । स्कुलमा शिक्षक र बिद्यार्थीमा अझै चेतना जाग्न सकेको छैन कि हाम्रो समाजमा केटा र केटीबाहेकका मानिसको पनि जन्म हुन्छ ।’अहिलेसम्म कुनै पनि सरकारी निकायमा तेस्रो लिङ्गी समुदायका मानिसले अवसर पाएका छैनन् । अझ रोचक कुरा त के भने संसारको प्रतिभाशाली महिलाको सुचीमा नेपालबाट भूमिका श्रेष्ठ हुनुहुन्छ भनेर लोकसेवा आयोगको प्रश्नपत्रमा उल्लेख छ । तर त्यही प्रश्नको उत्तर लेख्न तेस्रो लिङ्गी समुदायका मानिसले पाउँदैनन् । उहाँका अनुसार कतिपय साथीहरूले लोकसेवाको फर्म भरेका थिए । लोकसेवा आयोगले महिला र पुरुष भन्दा बाहेकको अप्सन नभएको भन्दै फर्म फिर्ता पठाईदियो ।
भूमिका शसस्त्र आन्दोलनको सम्झना गर्दै भन्नुहुन्छ, ‘त्यतीबेला हामीलाई सुराकी भन्दै धेरै दुख दिन्थे । नागरिकताको फोटो र वास्तविक अनुहार फरक भएकै निहुँमा ।’ अझ एयरपोर्टमा चेकजाँच गर्दा महिलाको लाइनमा बस्दा नागरिकता हेरेर पुरुषको लाइनमा पठाउने र अनुहार हेरेर पुन महिलाकै लाइनमा पठाइदिन्थे । यसबेला झन पीडा हुन्थ्यो ।’कति पटक लाइसेन्स हेरेर ट्राफिकले बिनाकारण चिट काटिदिने समस्याको कारण एकपटक ठूलो झगडा समेत परेको थियो । कतिपय तेस्रो लिङ्गी समुदायका मानिसहरूलाई घरबाट निकाला गरिएको छ । अझ अफिसमा समेत यस्ता व्यक्ति भन्ने थाहा भएपछि काम नै नदिने अवस्था छ ।
तेस्रो लिङ्गीहरूले समाजमा विकृति निम्त्याए भन्नेहरूकालागि उहाँ भन्नुहुन्छ, ‘न घरले साहारा दिन्छ । न गरी खान्छुभन्दा अवसर पाइन्छ । घरको न घाटको अवस्थामा पुगेपछि उनीहरूले पेट पाल्नकैलागि यौन व्यवसायलाई पेशाकोरुपमा अपनाउन बाध्य भएका हुन् । आरोप लगाउन र बिभेद गर्न धेरै सजिलो हुन्छ । त्यही ठाउँमा आफूलाई उभ्याएर हेर्दा के हुन्छ ? कसैले सोच्दैनन्’, पीडा र आक्रोसका भावहरू उहाँको अनुहारमा सजिलै देख्न सकिन्थ्यो ।
खुसीको क्षण
ब्लु डाइमण्ड सोसाइटीले आयोजना गरेको २००७ को मिस पिंक प्रतियोगितामा भूमिकाले पनि भाग लिनुभएको थियो । आफूले जित्छु भन्ने कुनै आशा नाराखेकी उहाँको पोल्टोमा ताज आइपुग्यो । शिरमा क्राउन लगाएर बिजेता बन्न पाँउदा उहाँ जीवनमा सबैभन्दा बढी खुसी हुनु भयो । हास्दै भन्नुभयो, ‘म बिजेता भएको खुसीमो त्यो दिन स्कुटर चलाउँदा हेल्मेट डिकीमा राखेर क्राउन लगाएरै घरसम्म पुगेकी थिएँ । भाग्यवश, ट्राफिकले पनि क्राउनलाई नै हेल्मेट ठानेछन् ।’
भूमिका श्रेष्ठ २०१९ मा विश्वका सय प्रतिभाशाली महिला मध्येकी एक हुन् । मिसेल ओवामालगायतका सफल महिलाको नामसंगै मेरो नाम थियो । सय प्रतिभाशाली व्यक्तिको सूचिमा आफ्नो र नेपालको नाम समेत आउँदा उहाँले जीवनमा आत्महत्याको प्रयास गरेको सम्झँदै भन्नुहुन्छ, ‘यत्तिका काम गर्न बाँकी नै रहेछ, मेरो साँच्चिकै मृत्यु भएको भए भूमिकाको मात्र होइन देशको भूमिका र हाम्रो समुदायको अधिकारकोलागि आवाज उठाउने भूमिकाको अन्त्य हुने रहेछ । धन्य मेरी आमा, जसले गर्दा म बाँच्न सफल भएँ ।’
समस्याको मूल जड नै घर
पहिला छक्का भनेर जिस्काउने हेप्ने मानिसहरू अहिले उहाँलाई स्वागत र सम्मान गर्छन् । उहाँसँग बोल्न डराउने र देख्दा भाग्नेहरू अहिले बोल्न र फोटो खिच्न आँउछन । यो भन्दा शौभाग्यको कुरा के हुन सक्छ ?’ उहाँ प्रश्न गर्दै भन्नुहुन्छ ‘उहाँहरूले नबुझेर हो जब बुझ्नुहुन्छ, हामी पनि सामान्य मानिस नै हौँ भन्ने चेतना जाग्न थाल्छ ।’
उहाँ भन्नुहुन्छ, ‘म आगामी दिनमा यो गर्छु भन्ने योजना नै छैन । जबसम्म मेरो चेतना रहिरहन्छ, तबसम्म तेस्रो लिङ्गी तथा समलिङ्गीलगायत यौनिक अल्पसंख्यकको हकहितकालागि लडिरहनेछु ।’ नबुझेसम्म आफू समलिङ्गी भएर जन्मनुमा भगवानलाई दोष दिने भुमिका अहिले भने समलिङ्गी भएकोमा गर्व गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘सात जन्मसम्म पनि मलाई समलिङ्गी भएरै जन्मने मन छ ।’
-पार्वती अधिकारी
#भूमिका श्रेष्ठ