News

दुई देशमै लड्डू

दुई देशमै लड्डू

पटक–पटक राजश्व अनुसन्धान र भन्सारबाट दण्डित हुँदै आएका कुख्यात तस्कर हरिनारायण गुप्ताले समाचार लेखेको कारण राष्ट्रिय सहारा दैनिकका सम्पादक चन्द्रभूषण साहलाई धम्क्याएका छन् । हरिनारायणको बारेमा स–प्रमाण छापेपछि गुप्ताले फोन गरी पत्रकार साहलाई अपशब्द प्रयोग गरी धम्काएको पत्रकार साहले बताए ।

दुई दशक अगाडि सामान्य हैसियत रहेका उनी अवैध कारोबार गरी पैसा कमाएपछि अहिले भुइँमा न भाँडामा जस्तै भएका छन् । झूठो विवरण पेश गरी बारा जिल्लाबाट नागरिकता लिएका हरिनारायण स–परिवार अहिले वीरगंज महानगरपालिकामा बस्दै आएका छन् । 

अवैध कारोबारमा दिन दुगुना रात चौगुना वृद्धि भएपछि आफ्नो निवास वरपर गुप्ताले आधा दर्जन घर खरिद गरेका छन् । देखाउने दाँतका रुपमा भने उनले हरिओम पार्टी प्यालेस संचालन गर्दै आएका छन् । भन्सार र राजश्व प्रशासन उनको सेटिङमा चल्ने गरेको छ । भुक्तभोगीहरु भन्छन– गुप्ताको मोबाइल डिटेल निकाल्ने हो भने उनका सबै कुकर्म प्रष्ट हुन्छ ।  

हरिनारायणको प्रहरी प्रशासनका उच्च पदस्थ हाकिमहरुसंग उठबस हुने गरेको छ । गुप्ता आफ्नो नागरिकतामाथि गृहमन्त्रालयले छानबिन गरेको र सम्मानित अदालतले नागरिकता वैध भएको दावी गर्दै आएका छन् । यद्यपि सार्वजनिक रुपमा सत्य प्रमाणित गर्न सकेका छैनन् । 

साहले आफू स–प्रमाण हरिनारायण विरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिने तयारीमा जुटेको पनि बताए । नेपालमा हरिनारायण प्रसाद गुप्ताको नामले बसोबास गर्दै आएका उनको नाम भारतमा हरिनारायण प्रसाद रहेको छ । भारतको राष्ट्रिय मतदाता सेवा पोर्टलमा सन् २०१९–११–५ सम्म उनको नाम अपडेट रहेको हामीसंग प्रमाण सुरक्षित रहेको छ ।

यसैगरी जिल्ला पूर्वी चम्पारण अनुमण्डल रक्सौल, थाना आदापुर ग्राम पंचायत लक्ष्मीपुर पोखरिया मुख्य ग्राम बिशुनपुरवा मतदान केन्द्र उत्क्रमित मध्य विद्यालय हिंदी पूर्व भागको पाना नं. १६ मा उनको नाम अहिले पनि सुरक्षित रहेको छ । 

हरिनारायणको बारेमा स्थानीय पत्रपत्रिकाले समाचार प्रकाशन गरेपछि राष्ट्रिय मतदाता सेवा पोर्टलमा देखिने नाम सच्याउन लगाएर गोलमाल गरेका छन् र अहिले आफ्ना हितैषीहरुलाई मैले गएर आफ्नो नाम कटाएर आएँ भन्दै हिँडिरहेका छन् ।

राजश्व भन्सार

विशेष