News

केन्द्रीय कारागारको गोलघरमा चेस र बाघचाल प्रतिस्पर्धा गर्दै शोभराज र गोरे

केन्द्रीय कारागारको गोलघरमा चेस र बाघचाल प्रतिस्पर्धा गर्दै शोभराज र गोरे

काठमाडौंः नाटकीय शैलीमा विभिन्न देश पुगेर हत्या गर्ने विश्वकुख्यात अपराधी चार्ल्स शोभराज र प्रहरीलाई नै हात लिएर विमानस्थलबाटै ३८ क्विन्टल सुन तस्करी गर्ने अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ । सुन्धारास्थित केन्द्रीय कारागारको गोलघरमा रहेका उनीहरूको जेलभित्रै दोस्ती झाँगिएको छ । 

शोभराज र गोरेको जेल दैनिकी चेस र बाघचाल प्रतिस्पर्धामा बित्ने गरेको छ । उनीहरू दैनिक चेस र बाघचाल प्रतिस्पर्धामा रमाउने गरेको केन्द्रीय कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले बताए । उनका अनुसार गोलघरमा रहेका सात कैदीबन्दीमध्ये शोभराज र गोरेको सम्बन्ध विशेष छ । दुवैजना किताब पनि साटफेर गरेर पढ्छन् । 

उनीहरू कुख्यात भएकाले जेल प्रशासनले विशेष निगरानीमा राखेको छ । भाग्न सक्ने र जेलभित्रैबाट अपराध गर्न सक्ने व्यक्तिलाई गोलघरमा राखिन्छ । उनीहरूले गोलघरभित्रै कैदीबन्दीलाई मात्र केही घन्टा भेट्न पाउँछन् । शोभराज ०६० यता गोलघरमा छन् । एकपटक उनीसँग मोबाइललगायत विद्युतीय सामान भेटाएपछि जेल प्रशासनले थप कडाइ गरेको छ । गुन्डा नाइके अभिषेक गिरी, बाल यौन दुराचारमा पक्राउ परेका साउदी अरेबियन नागरिक र न्यायाधीश रणबहादुर बमको हत्यामा संलग्न एक कैदी पनि गोलघरमै छन् । 

चार वर्षपछि छुट्ने 

शोभराज जेल बसेको ९ वर्ष भयो । सबै मुद्दामा कैद भुक्तान गरेर छुट्न अब चार वर्ष बाँकी छ । जेलर बाँस्कोटाका अनुसार ०८० मा उनको सबै कैद सजाय सकिनेछ । शोभराजविरुद्ध नेपालमा दुईवटा हत्या र एउटा हत्या प्रयासको मुद्दा छ । ०३३ मा दुई विदेशी नागरिकको हत्या मुद्दामा उनी दोषी ठहर भएका छन् । जसमा उनलाई जन्मकैद सजाय भएको छ । नेपालको कानुनअनुसार जन्मकैद मुद्दामा अधिकतम २० वर्ष जेल बस्नुपर्छ । त्यस्तै, ०६७ मा केन्द्रीय कारागारमा युनुस अन्सारीलाई गोली हानेको घटनामा पनि शोभराजको संलग्नता देखिएको थियो ।

भारतीय नागरिक मनमित सिंहले शोभराजबाटै अन्सारीबारे सूचना लिएर गोली हानेका थिए । जसमा उनीविरुद्ध समेत मुद्दा दायर भएको छ । सबै मुद्दाको कैद सजाय ०८० असारमा सकिनेछ । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

केन्द्रीय कारागार चार्ल्स शोभराज चूडामणि उप्रेती ‘गोरे’ 

विशेष