बेदकोटमा न्यायिक समिति संयोजक सुशिलाको सक्रियता

कञ्चनपुरः बेदकोटमा न्यायिक समिति संयोजक सुशिला सिंहको सक्रियता मन्दिरपुरमा मिचिएको बाटो खोल्नेदेखि बेसहरा वृद्धालाई आधा कट्टा जग्गासम्म महेन्द्रनगर, ४ फागुन बेदकोट नगरपालिका–७ मन्दिरपुरमा सरकारी बाटो वर्षौदेखि स्थानीयको भोगचलनमा थियो । स्थानीय तह निर्वाचनमा बाटो खोल्नु पर्ने माग उम्मेदरवारसित गरिएको थियो । चुनाव जितेपछि बाटो खोल्न पर्ने माग सहितको निवेदन न्यायिक समितिकी संयोजक नगर उपप्रमुख सिंहसम्म पुग्यो ।
नगर उपप्रमुख सिंह सोही वडाकी भएकाले उनलाई बाटो खोल्दा हुने फाईदाबारे उनी जानकार थिइन् । स्थानीयको माग अनुसार बाटो खोल्न पहल अघि सारिन । अन्ततः गत वर्ष धरै पटकका छलफलपछि मन्दिरपुरका वासिन्दाको वर्र्षाैखिको माग बाटो खोलेर समाधान गरियो । न्यायिक समितिका संयोजक नगर उपप्रमुख सिंह भन्छिन्,‘न्यायिक समितिमा अरु पनि मुद्दा हल गरियो, मन्दिरपुरमा धेरै छलफलपछि बाटो खोलियो, वर्षौदेखि स्थानीयको माग हल गरियो ।’ स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार नगर उपप्रमुख सिहको अध्यक्षतामा गठन गरिएको न्यायिक समितिमा अढाई वर्षमा ८८ मुद्दा पुगेका छन् । तीमध्ये ८० प्रतिशत मुद्दा आपशी सहमतिमा हल गरिएको समितिकी संयोजक सिह बताउँछिन् ।
समितिमा आएका मुद्दामध्ये अधिकाँश मुद्दा जग्गा किचलोका छन् । त्यसपछि अंशबण्डा, कुटपिट, साँध संधियार लगायतका छन् । जग्गा किचोलोका मु्द्दा मिलाउन समितिलाई सबैभन्दा बढी अप्ठेरो पर्ने गर्छ । मन्दिरपुरको जग्गा विवादको मुद्दाझैं नगर उप प्रमुख सिहले वडा नं. १० मा वर्षौदेखि ऐलानीमा बस्दै आएकी विपन्न बृद्धा महिलालाई आधा कट्टा जग्गा दिलाएकी छन् । सोही वडामा जग्गा किनबेचमा आफ्नै नातेदारबाट ठगिएकी महिलालाई समेत न्याय दिएकी छन् । ‘स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार क्षेत्रभित्र रहेर समितिमा आउने विवाद छिनाफानो गरिरहेका छौ, सहमति हुन नसकेका विवादलाई रिफर गर्छौ’ संयोजक सिह भन्छिन् ।
नगर उप प्रमुख सिह संयोजक रहेको समितिमा वडा अध्यक्ष नरेश बहादुर सिह र वडा सदस्य चन्द्र कुँबर सदस्य छन् । समितिलाई सहयोग गर्न कानुन अधिकृत, सदस्य सचिव र एक जना मेलमिलापकर्ता राखिएका छन् । समितिका सदस्य सचिवको फेरबेदलले भने समितिका कामकाज व्यवस्थित गर्न अप्ठेरो परेको संयोजक सिहले बताइन् । ‘समितिमा कर्मचारी सदस्य सचिव छन्, सरुवा भएर आउने जाने हुन्छन्, त्यस कारण समितिका कामकाजलाई व्यवस्थित गर्न समस्या छ’ संयोजक सिह भन्छिन्,‘अहिलेसम्म तीन जना बदलिए, यसले अप्ठेरो छ ।’ न्यायिक समितिले समितिका कामकाज व्यवस्थित गर्न छुट्टै इजलाश सञ्चालन गर्ने तयारी गरेको छ ।
कार्यालयमा कोठा नभएकाले नगर उप प्रमुखको कार्यकक्षमा न्यायिक समितिका कामकाज हुँदै आएका छन् । ‘भवन नभएर इजलाश छुट्टै राख्न सकिएको छैन, छिट्टै इजलाश राख्न तयारी गरेका छौ’ संयोजक सिहले भनिन्,‘अहिले मेरै कोठामा समितिको कामकाज हुन्छ, इजलाश सञ्चालन गरी व्यवस्थित गर्छौ ।’ साविक सुडा र दैजी गाविस मिलाएर बनेको बेदकोट नगरपालिकाका १० वडा छन् । स्थानीय स्तरका विवादलाई वडामा मिलाउन सबै वडामा ३९ जना मेलमिलापकर्ता परिचालन गरिएका छन् ।
न्यायिक समितिकी संयोजक सिहले न्यायिक समितिलाई सुदूरपश्चिम प्रदेशमै उत्कृष्ठ समिति बनाउने गरी आफूले कामकाज गरेको बताउँछिन् । सुदूरपश्चिम प्रदेश सरकार र जिल्ला अदालतको टोलीले न्यायिक समितिका कामकाजको जानकारी लिएको छ । ‘यसले मलाई काम गर्ने हौसला थपिएको छ, समितिका कामकाज प्रभावकारी बनाउने गरी काम गर्छु’ उनी भन्छिन् । न्यायिक समितिकी संयोजक सिह कर्मचारीलाई वस्तीमा पठाउँदा स्थानीयको व्यवहारले चिन्तित छिन् । मुद्दाका लागि वस्तीमा जाने कर्मचारीलाई स्थानीयले अटेर गर्दै आएको उनी बताउँछिन् ।
न्यायिक समितिले सबै वडामा स्थानीय सहितलाई तालिम दिएको छ । न्यायिक समितिका कामकाज प्रभावकारी बनाउन कार्यपालिका सदस्य र कर्मचारीहरुलाई दुई दिने तालिम दिइएको छ । नगर प्रमु्ख अशोक कुमार चन्दले उद्घाटन गरेको तालिमको शनिबार नगर उप प्रमुख सिहले समापन गरिन् ।
जिल्ला न्यायाधीश शिवलाल पाण्डेय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका हरिशचन्द्र जोशी लगायतले सहजीकरण गरेको तालिममा ६० जना सहभागी भएका छन् । ‘न्यायिक समितिका कामकाज प्रभावकारी बनाउन यो तालिम आयोजना गरिएको छ, यसले समितिका कामकाज प्रभावकारी हुने आशा गरिएको छ’ समितिकी संयोजक सिहले भनिन् ।
कञ्चनपुर सुशिला सिंह