विदेश

भोका सन्तानको पेट भर्न २४० रुपैयाँमा कपाल बेच्ने आमा

भोका सन्तानको पेट भर्न २४० रुपैयाँमा कपाल बेच्ने आमा

बीबीसीः आफ्ना साना सन्तानको पेट भर्नका लागि लागि १५० भारतीय रुपैयाँ (नेरु २४०) मा कपाल बेचेको दिन प्रेमा सेल्भमको जीवनको सबैभन्दा खराब दिन थियो।

तीन सन्तानकी आमा सेल्भमले श्रीमान् पहिल्यै गुमाइसकेकी थिइन्। बढ्दो ऋण र असफल सपनाका कारण उनका श्रीमान्‌ले आत्महत्या गरे। तर त्यति भए पनि उनीसँग आशा बाँकी नै थियो।

आफ्नो कपाल बेचिसकेपछि साहुको ऋण तिर्न वा खानेकुराको जोहो गर्न अब थप सम्भावना बाँकी रहेन भन्ने बोध उनलाई भयो। तर त्यसपछि के भयो भन्ने कुराले सबैलाई प्रेरित गर्छ। 

ऋणको जाल

मृत्यु हुनुअघि सेल्भम र उनका पतिले भारतको दक्षिणी राज्य तालिमनाडुको एउटा इँटाभट्टामा काम गर्थे। त्यो कमाइले केवल उनीहरूको साना बालबच्चासहितको परिवार पाल्न मात्रै काफी हुन्थ्यो। उनीहरूले जीवनमा त्योभन्दा बढी चाहे। आफ्नै इँटाभट्टा खोल्नका लागि उनका श्रीमान्‌ले ऋण लिए। तर योजना अनुसार सफल भएनन्।

निराश भएर गत वर्ष उनले आत्महत्या गरे। त्यसपछि ऋणको पूरा भार सेल्भममाथि आइलाग्यो। तीन सन्तानको पालनपोषण मात्रै नभई असफल भएको व्यापारका लागि लिइएको पैसा गर्ने दबाबमा पनि उनी परिन्। "काम गर्न जाँदा म दिनको दुई सय रुपैयाँ पाउँछु जुन परिवार चलाउनका लागि पर्याप्त हुँदैन," सेल्भमले भनिन्। त्यसपछि उनी बिरामी भइन्। उनले पहिले जति कमाउन सकिनन्। "म इँटाको गह्रुँगो भारी बोक्न सक्दिनँ। ज्वरोले गर्दा म धेरै समय घरमै बसेँ।" 

 
विकल्परहित अवस्था

उनी तीन महिनाका लागि बिरामी भइन्। तिर्नुपर्ने ऋण धेरै भयो र खानेकुराका भाँडा रित्तियो। "मेरो सात वर्षको छोराले एक दिन स्कुलबाट आएर खानेकुरा माग्यो," उनी भन्छिन्। "त्यसपछि भोक लाग्यो भनेर रुन थाल्यो।" सेल्भमसँग बेचेर पैसा आउने केही थिएन। "मसँग १० रुपैयाँ पनि थिएन। केही प्लास्टिकका बाल्टी मात्रै थिए।" "कपाल किन्ने गरेको एउटा पसल सम्झिएँ," सेल्भमले भनिन्।

विश्व बजारमा मानिसको कपाल निर्यात गर्ने भारत एउटा मुख्य निर्यातकर्ता हो। केही हिन्दु धर्मावलम्बीहरू मन्दिरमा आफ्नो मनोकामना पूरा भएको ठानेपछि कपाल खौरिन्छन्। भारतमा धेरै मानिसले धार्मिक आस्थाका कारण मन्दिरमा कपाल खौरिन्छन्

आत्महत्याको निर्णय

"म त्यही पसलमा गएँ र १५० रुपैयाँमा पूरै कपाल बेचेँ।" त्यो पैसा त्यति धेरै नलाग्न सक्छ। त्यति पैसाले एउटा ठूलो सहरको रेस्टुराँमा केवल एक छाक खाना खान पुग्ला। तर सेल्भमको गाउँमा भने उनले त्यति पैसामा धेरै कुरा किन्न सकिन्छ।

"मैले तीनजना बच्चाका लागि २० रुपैयाँ पर्ने प्याकेटमा भएको पाकेको भात किनेँ," उनले भनिन्। तर त्यस्तो राहत अस्थायी थियो। सेल्भमसँग अब अरू केही विकल्प थिएन। र, उनले थप उपायहरूबारे सोच्न थालिन्।  

निराश

आत्महत्या गर्ने सामान किन्न उनी नजिकैको एउटा पसल पुगिन्। तर उनको दुखी अवस्था देखेका पसलेले केही पनि बेचेनन्।

घर फर्किएर सेल्भमले आत्महत्याको अर्को उपाय खोज्ने निर्णय गरिन्। तर छिमेकमा रहेकी उनकी बहिनी त्यतिबेला नै आइपुगिन् र सेल्भमलाई आत्महत्या गर्नबाट रोकिन्।त्यसको केही दिनपछि अनपेक्षित रुपमा उनलाई एउटा सहयोग मिल्यो।

दुखको अनुभव

प्रेमाको त्यस्तो अवस्थाबारे बाला मुरुगनले आफ्ना एक साथीबाट थाहा पाए जो त्यही क्षेत्रमा एउटा इँटाभट्टा चलाउँछन्। प्रेमाको अवस्था सुन्ने बितिक्कै मुरुगनले आफ्नो परिवारले गुजारेका कठिन दिनहरू सम्झिए।

गरिबीले मानिसलाई कुन हदसम्म पुर्‍याउँछ भन्ने मुरुगनले १० वर्षकै उमेरमा थाहा पाएका थिए। त्यतिबेला उनको परिवारमा पनि खानका लागि केही थिएन। उनकी आमाले चामल किन्नका लागि पुराना किताब र पत्रिकाहरू तौल जोखेर बेचेकी थिइन्।

चरम निराशाको अवस्थामा मुरुगनकी आमाले सन्तानसँगै आफू पनि मर्ने निर्णय गरेकी थिइन्। तर अन्तिम अवस्थामा उनको मन परिवर्तन भयो। उनका परिवारले उनलाई अस्पताल दौडाए र उनी बाँचिन्।

जुन अवस्थामा मुरुगन हुर्किएका थिए अहिले त्यो अवस्थाबाट धेरै माथिको जीवन उनी बाँचिरहेका छन्। वर्षौंको सङ्घर्षपछि अहिले उनी गरिबीको अवस्थामा छैनन्। उनले एउटा कम्प्यूटर ग्राफिक्स केन्द्र सञ्चालन गरिरहेका छन्। –बीबीसी नेपालीबाट 

कपाल आमा भोका सन्तान

विशेष