काठमाडाैँमै हाेटल तथा गेष्ट हाउसमा प्रहरीकाे छापा, १६ महिलासहित ५७ जना पक्राउ
काठमाडौं - गोँगबु नयाँबसपार्क क्षेत्रबाट आपराधिक क्रियाकलापमा संलग्न ५७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीको शुद्धीकरण अभियान अन्तर्गत शनिबार उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे।
महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले शनिबार राति चलाएको शुद्धीकरण अभियान अन्तरगत उक्त क्षेत्रकाे विभिन्न हाेटल तथा गेष्ट हाउसमा छापा हानी ४० पुरुष, १६ महिला र एक तेस्रोलिङ्गीलाई नियन्त्रणमा लिएकाे हाे।
गेष्ट हाउस सञ्चालन गरेर वेश्यावृत्तिमा लगाएको आरोपमा प्रहरीले शिवपुरी गेष्ट हाउसका सञ्चालक विनोद भट्टराई, मुस्ताङ गेष्ट हाउसका सञ्चालक नरेन्द्र पोमु र वाग्लुङ भोजनालयका सञ्चालक सोमबहादुर तामाङलाई समेत पक्राउ गरेको छ ।
यसैगरी गेष्ट हाउसमा विचौलियाका रुपमा कार्यरत विष्णु थापा, अशोक पोमु र कमल कालाखेतीलाई समेत नियन्त्रणमा लिएको छ । अभियानका क्रममा जबर्जस्ती करणी मुद्दामा फरार अपराधी शनकाजी दर्जी पनि पक्राउ परेका छन् । वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले नयाँबसपार्क क्षेत्रको विकृति, विसङ्गति अन्त्यका लागि अभियान चलाएको बताएका छन् ।