News

पूर्वसभामुख महरा आजै छुट्दै, सांसदको सेवा सुविधा पाउने

पूर्वसभामुख महरा आजै छुट्दै, सांसदको सेवा सुविधा पाउने

काठमाडाैँ – जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएपछि पूर्वसभामुख कृष्णबहादुर महरा आजै छुट्ने भएका छन् । यसअघि उनी पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान भएका थिए  । 

साथै, फौजदारी मुद्दा लागेसँगै निलम्बनमा परेको उनकाे सांसद पदको सेवासुविधा पनि फुकुवा हुने भएको छ । फौजदारी अभियोग लागेपछि सार्वजनिक पद धारण गरेका व्यक्तिको सेवासुविधा निलम्बन हुन्छ । तर, उनले सफाइ पाएकाले सेवासुविधा पाउने भएका हुन् ।

भ्रष्टाचारको अभियोगमा भने पद नै निलम्बनमा पर्ने कानुनी व्यवस्था छ । करिब ८ महिनाअघिसम्म सभामुखको भूमिकामा प्रतिनिधिसभामा प्रवेश गर्ने महरा अब सांसदका रूपमा संसदमा पुनः प्रवेश गर्नेछन् ।

बहस सकेर आइतबार नै फैसला हुने भनिए पनि उक्त मुद्दा हेर्दा हेर्दैमा सोमबारलाई राखिएको थियो । आइतबार महराको अन्तिम सुनुवाइ भएको थियो । महराको पक्षबाट रमणकुमार श्रेष्ठ, शेरबहादुर केसी, भीमार्जुन आचार्य, लव मैनाली, सवितालगायतले बहस गरेका थिए । तर, समय अभावले फैसला भने हुन सकेको थिएन ।

संसद् सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा महरामाथि मुद्दा चलाइएको थियो । यसअघि कात्तिक १८ गते जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको एकल इजलासले महरालाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दिएको थियो ।

विशेष