News

आजदेखि काठमाडौंमा तार भूमिगत, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

आजदेखि काठमाडौंमा तार भूमिगत, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

काठमाडौंः नेपाल विद्युत प्राधिकरणले सोमबारदेखि काठमाडौं उपत्यकामा बिजुलीका तार भूमिगत गर्ने भएको छ ।  तार भूमिगत कार्यक्रमको औपचारिक उद्घाटन प्रधामन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् । पहिलो चरणमा आजदेखि रत्नपार्क र महाराजगञ्ज विद्युत वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा बिजुलीको तार जमिनभित्र (अन्डरग्राउन्ड) गर्ने भएको हो ।  

विद्युत वितरण भूमिगत भएपछि अहिले जस्तो सडकमा तार देख्नुपर्ने छैन । काठमाडौं उपत्यकाको विद्युत वितरण प्रणालि तथा सुदृढीकरणका लागि बिजुलीको तार भूमिगत गर्न लागिएको हो । प्राधिकरणले बिजुली वितरण भूमिगत गर्न सडक विभागबाट स्वीकृति लिएपछि यो कामको शुरु गर्न लागेको हो । अन्डरग्राउन्डको काम आजैबाट शुरु हुने विद्युत प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए ।

अत्याधुनिक प्रविधिबाट ठाउँ–ठाउँमा प्वाल पारेर बिजुली तार जमिनमुनी राखिने भएको छ । यसका लागि सडक यत्रतत्र खन्नुपर्ने छैन। तार भूमिगत गर्न भारतको केइआइकके कम्पनीले ठेक्का पाएको छ। रत्नपार्क र महाराजगञ्ज स्मार्ट कम्युनिकेसनुको क्षेत्र भएकाले पहिलो चरणमा भूमिगत गर्न लागिएको प्राधिकरणले जनाएको छ।

विद्युत वितरण प्रणालीलाई भूमिगत गर्न एसियाली विकास बैंक (एडिबी) ले १५ अर्ब रुपैयाँ ऋण सहयोग गरेको छ । दुई वितरण केन्द्रमा तार भूमिगत भएपछि ९० हजार विद्युत उपभोक्ता लाभान्वित हुने छन्। विद्युत वितरण प्रणालीलाई भूमिगत गर्न सर्भे भइसकेको छ। प्राधिकरणले घरैबाट बिजुलीको बिल तिर्न मिल्ने गरी दुई वर्षभित्र अन्डरग्राउन्डको काम सम्पन्न गर्ने लक्ष्य लिएको छ।  

नेपाल विद्युत प्राधिकरण केपी शर्मा ओली तार भूमिगत

विशेष