बढी भिडभाड हुने स्थानमा शौचालय बनाइँदै
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले मानिसको बढी भिडभाड हुने र सम्पदा क्षेत्रलाई ध्यानमा राखेर सार्वजनिक शौचालय निर्माण गर्ने तयारी गरेको छ । नयाँ शौचालय निर्माणसँगै सञ्चालनमा रहेका सार्वजनिक शौचालयको गुणस्तर सुधार गर्नुपर्ने, पहुँच बढाउनुपर्ने, पेट्रोल पम्पलगायत सार्वजनिक सेवा प्रदायक निकाय र होटल, रेष्टुराँलगायत निजी तथा व्यावसायिक स्थान सञ्चालन भइरहेका शौचालयलाई स्तरोन्नति गरिने कामपाको उपप्रमुख हरिप्रभा खड्गी(श्रेष्ठ) जानकारी गराईन।
शुक्रबार बसेको नगर कार्यपालिकाको बैठकले सामाजिक उत्तरदायित्वअन्तर्गत सार्वजनिक शौचालय निर्माणको काम अघि बढाउन उपप्रमुख श्रेष्ठलाई जिम्मेवारी दिएको थियो । चालु आर्थिक वर्षमा कामपाले सार्वजनिक शौचालय निर्माणका लागि रु तीन करोड विनियोजन गरेको छ । पछिल्लो समय कामपाले शहरी योजना आयोग गठन गरी सार्वजनिक शौचालय निर्माणको लागि काम अघि बढाएको जनाए पनि हालसम्ममा निर्माणको लागि ढाँचा, लागत र स्थानको अध्ययन मात्र गरेको छ ।
हाल कामपामा ५८ सार्वजनिक शौचालय सञ्चालनमा छन् । सञ्चालमा रहेकामध्ये २८ प्रयोगमा रहेको र तीनमा पनि सरसफाइको अभाव छ । नेपाल आयल निगम, कर्मचारी सञ्चयकोष, खाद्यसंस्थान, सांस्कृतिक संस्थान, गुठी, त्रिभुवन विश्वविद्यालयलगायतका संस्थासँग सहकार्य गरी सार्वजनिक शौचालय निर्माण गर्न सकिने प्रतिवेदनमा उल्लेख छ ।
अध्ययनअनुसर आवश्यकता हेरी ६९ स्थानमा नयाँ शौचालन निर्माण गर्न सकिने छ । निर्माणका लागि छ वटा नमूना तयार भएको छ । सबै नमूनाको अध्ययन गरी कम लागतमा निर्माण हुने र टिकाउ शौचालय निर्माण कामपाको छनोटमा रहने उपप्रमुख खड्गीको भनाइ छ।
अध्ययनअनुसार सार्वजनिक शौचालय निर्माणको लागि आवश्यक स्थानमा टेकु, सानेपा पुलसँगै, कालीमाटी, कलङ्की, सीतापाइला, बालाजू, माछापोखरी, गोङ्गबु, प्रहरीचौकी, महाराजगञ्ज, सुकेधारा, चाबहिल, मित्रपार्क, जयबागेश्वरी, गौशाला, तिनकुने, कोटेश्वर, नयाँबानेश्वर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, सुन्धारा एनएसीतर्फ, जुद्ध शालिक वरपर, हनुमानढोका, जमल, लैनचौर, स्रोह्रखुट्टे र पेट्रोलपम्पमा, बल्खु तथा कुलेश्वरलगायत स्थान रहेको छ ।
सार्वजनिक शौचालय