रिहाइ प्रक्रिया पूरा गर्न बलात्कार आराेपी महरालाई डिल्लीबजार कारागारतर्फ लगियो
काठमाडौं - बलात्कार प्रयास मुद्दामा जिल्ला अदालत काठमाडौंबाट निर्दोष ठहर भएका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई डिल्लीबजार कारागारतर्फ लगिएको छ ।
पुर्पक्षका लागि थुनामा रहेका महरालाई रिहाइको प्रक्रिया पूरा गर्न कारागारतर्फ लगिएको हो । महरालाई सोमबार जिल्ला न्यायाधीश अमरराज पौडेलको इजलासले निर्दोष ठहर गरेको हो । उनलाई नेकपा कार्यकर्ताहरुले डिल्लीबजार कारागार बाहिर स्वागतको तयारी गरेका छन् ।
बहस सकेर आइतबार नै फैसला हुने भनिए पनि उक्त मुद्दा हेर्दा हेर्दैमा सोमबारलाई राखिएको थियो । आइतबार महराको अन्तिम सुनुवाइ भएको थियो । महराको पक्षबाट रमणकुमार श्रेष्ठ, शेरबहादुर केसी, भीमार्जुन आचार्य, लव मैनाली, सवितालगायतले बहस गरेका थिए । तर, समय अभावले फैसला भने हुन सकेको थिएन ।
संसद् सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा महरामाथि मुद्दा चलाइएको थियो । हाल उनी पुर्पक्षका लागि डिल्लीबजार कारागारमा छन् । यसअघि कात्तिक १८ गते जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको एकल इजलासले महरालाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दिएको थियो ।