News

कुरा बुझ्न थाले खरिपाटीबासीः भन्छन्, ‘रोग सर्छ भन्ने कुरा हल्ला मात्रै रहेछ’

कुरा बुझ्न थाले खरिपाटीबासीः भन्छन्, ‘रोग सर्छ भन्ने कुरा हल्ला मात्रै रहेछ’

भक्तपुरः कोभिड नाइन्टिन (कोरोना भाइरस) को प्रकोप फैलिएको चीनको वुहानबाट उद्धार गरी ल्याइएका नेपालीको दैनिकी खरिपाटीमा खेलकुदमा बितिरहेको छ । रोग फैलने त्रास रहेका वरपरका वासिन्दाले विस्तारै कुरा बुझ्न थालेका छन् ।

स्थानीय रामलाल महर्जन भन्छन्, “बिरामी त होइन रहेछन्, किन यहाँ ल्याएको होला? घरै लगे पनि हुने थियो । रोग सर्छ भन्ने कुरा हल्ला मात्रै जस्तो लाग्यो ।” उनले त्यति रमाइलो गरेर बसिरहेकाहरूलाई रोगी भन्न नसक्ने बताए । 

हुन पनि चीनबाट आएका नेपालीको दैनिकी मस्तीले बितेको छ । उनीहरूलाई सहज होस् भन्ने उद्देश्यले सरकारले इन्टरनेट, टेलिभिजन, विभिन्न खेलकुदका सामग्रीहरूको व्यवस्थासमेत गरिदिएको छ । क्वारेन्टाइनमा बस्ने नेपालीले आफूले सोचेभन्दा पनि धेरै राम्रो व्यवस्थापन गरेकोमा सरकारको प्रशंसासमेत गरिरहेका छन् ।

सोमबार भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा पुग्दा रमाइलो दृश्य देखिन्थ्यो । क्वारेन्टाइनमा बसेकाहरूको तीन टोली क्वारेन्टाइनको छतमाथि बसेर क्यारामबोर्ड खेलिरहेका देखिन्थे । केही लुडो, केही ब्याडमिन्टनसमेत खेलिरहेका थिए । सरकारले विभिन्न क्षेत्रका मानिसलाई क्वारेन्टाइन व्यवस्थापनमा खटाएको छ ।

स्वास्थ्य क्षेत्रमा नेपाली सेनाका चिकित्सक डा। नवीन फुयालको नेतृत्वमा टोली खटाइरहेको छ । डा. फुयालले  स्वास्थ्य क्षेत्रबाट गर्नुपर्ने सम्पूर्ण व्यवस्थापन गरिएको बताए । उनले क्वारेन्टाइनमा बस्ने १७५ जना स्वस्थ रहेको जानकारी दिँदै सुरक्षाको दृष्टिकोणबाट मात्र राखिएको बताए । डा. फुयालले खाना, बस्न, खेलकुद, मनोरञ्जन, इन्टरनेटको समेत व्यवस्था गरिएको बताए । 

‘उहाँहरूलाई कुनै किसिमको कमी भएको महसुस हुन दिएका छैनौं,” डा. फुयालले भने, ‘स्थानीयवासीलाई बिरामी नै ल्याएको हो कि जस्तो लागेको छ, यो भ्रमलाई चिर्नु जरुरी छ  ।’ डा. फुयालले त्यहाँ रहेका सम्पूर्ण नेपाली स्वस्थ रहेको र वरपर रोग सर्ने कुनै सम्भावना नरहेको बताए । खकार परीक्षणका लागि टेकु पठाइएको जानकारी दिँदै उनले बुधबार रिपोर्ट आइसक्ने जानकारी दिए ।

अहिलेसम्म कुनै पनि नेपालीलाई रुघाखोकी, ज्वरोजस्ता समस्या नदेखिएकाले आइसोलेसनमा समेत जानु नपरेको बताए । सोमबार दिउँसो नै भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, नेपाल प्रहरीका भक्तपुर प्रमुख (एसपी) सविन प्रधानलगायत क्वारेन्टाइन स्थल खरिपाटी पुगेर त्यहाँ राखिएका नेपालीबारे जानकारी लिएका थिए । यो समाचार आजको गोरखापत्र दैनिकबाट लिइएको हो ।
 

 

कोरोना भाइरस खरिपाटी खरिपाटीबासी

विशेष