News

जेलबाट खुसी हुँदै बाहिरिए महरा

जेलबाट खुसी हुँदै बाहिरिए महरा

काठमाडौँ। पूर्वसभामुख कृष्णबहादुर महरालाई सोमबार दिउँसो काठमाडौं जिल्ला अदालतले सफाइ दिएसँगै उनका सहयोगी र शुभेच्छुकहरू डिल्लीबजार कारागारबाहिर भेला भइसकेका थिए ।

सत्तारूढ नेकपाका हिमाल शर्मालगायत नेता-कार्यकर्ता महरालाई स्वागत गर्न फूलमालासहित पुगेका थिए ।सफाइ पाएका महरालाई करिब ३ बजेतिर अदालतबाट सिधै कारागारको 'क' ब्लकमा लगियो। त्यहीं रहेका पूर्वआईजीपी रमेश चन्द ठकुरी, सशस्त्रका पूर्वडीआईजी रञ्जन कोइरालालगायतले बधाई छ हजुर' भन्दै उनलाई स्वागत गरे ।

चन्द सुडान घोटाला प्रकरणमा र पूर्वडीआईजी कोइराला पत्नी गीता ढकालको हत्या अभियोगमा कैद गरिरहेका भुक्तान छन्। करिब ५० जना अट्ने 'क' ब्लकको हलमा चन्द र कोइरालासँगै महरा १३३ दिन बसेका यए। दुवै पूर्वप्रहरी अधिकृत उनका रुम पार्टनर पए। कैदीबन्दीले सोमबार 'पहिलो पटक महरालाई मुस्कुराएको देखेको' भन्दै मुखामुख पनि गरे । 

कहिलेकाहीं मात्रै घरबाट ल्याएको खाना खाएका महराले यो अवधिमा अधिकांश समय सञ्चालित मेसमा खाना खाएका थिए । आफूलाई खाना खुवाउनेदेखि भेटिएका सबैप्रति उनले छुट्ने बेला सहानुभूति देखाए । महराले 'यो अवधिको बसाइ अविष्मरणीय रहयो, तपाईंहरूले गर्नुभएको सहयोग र मप्रति देखाउनुभएको सद्भावप्रति धन्यवाद दिन चाहन्छु' भने । त्यति भनिसकेपछि पूर्वआईजीपी चन्द र पूर्वडीआईजी कोइरालाले खादा ओढाएर बिदाइ गरे ।

जेलमा ल्याउँदा पनि चन्दले उनलाई स्वागत गरेका थिए। २०६८ जेठ १८ मा आईजीपी चन्दलाई जिम्मेवारीबाट मुक्त गरी प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा ल्याउने प्रस्ताव उनै महराले गरेका थिए । त्यसमा तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले सहमति जनाएका थिए ।

प्रधानमन्त्री खनाल र गृहमन्त्री महराको सल्लाहमा चन्दलाई आईजीपीबाट हटाइएको थियो। एक कर्मचारीका अनुसार घर जानुअघि महरा निकै खुसी देखिएका थिए । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। 

विशेष