खच्चडबाट सामान ढुवानी गरेर महिनामा डेढ लाख कमाई!
हुम्लाः सडक सञ्जाल नजोडिएको हुम्लामा खच्चड व्यवसायीले सामान ढुवानी गरेरै मासिक डेढ लाखसम्म कमाई गर्न थालेका छन् । जिल्लाका दक्षिणी क्षेत्रमा पर्ने मुगुको गमगढीबाट खच्चडमाथि पैदल यात्रा गरी सामान ढुवानी गर्दा उनीहरुको कमाई राम्रो भएको हो ।
मुगुको गमगढीबाट खच्चड दैनिक उपभोग्य सामान ढुवानी गरेर गाउँगाउँ लिएर बिक्री गर्दा मासिक एक लाख ५० हजारसम्म कमाई हुने गरेको खच्चड व्यवसायी भिमबहादुर शाहीले बताए । २५ खच्चडका मालिक शाहीले एक पटकमा एउटा खच्चडले सत्तरीदेखि ८० किलोग्राम सामान बोकेर ल्याउने र उक्त सामान बिक्री गर्दा मासिक कमाई राम्रो हुने गरेको बताए । त्यति मात्र होइन कुनै बेला ढुवानीको मात्र काम पाएर पनि खच्चड व्यवसायीले कमाउने गर्दै आएका छन् । हिमपात र पानी पर्ने बेला बाहेक अन्य बेला जे होस खच्चड ब्यबसायीहरुले खाली बस्नु नपर्ने भएको कारण व्यवसायसँग भएका खच्चड संख्याका आधारमा कमाई हुने गरेको छ ।
२३ वटा खच्चड भएका जय बहादुर रोकाया पनि मुगुको गमगढीबाट दैनिक उपभोग्य देखि बिकास निर्माणका सामानहरु ढुवानी गर्ने व्यवसायी छन् । दुख बढी भएपनि मासिक एक लाख चालीस हजार भन्दा बढी कमाई हुने गरेको उनले बताए । आवश्यता परेका बेला दैनिक उपभोग्य सामानदेखि लत्ता कपडाहरु खच्चड माथि ढुवानी गरेर गाउँ गाउँ पुर्याउने गरिएको पनि रोकायाले बताए । यी सामानहरुको गाउँमा माग पनि बढी हुने गरेको कारण बिक्री नहुने चिन्ता नै नभएको उनले बताए । सडक यातायात नजोडिएको कारण हुम्ला जिल्लामा खच्चडबाट सामान ढुवानी गर्ने व्यवसाय फस्टाई रहेको छ ।
मुगुको गमगडीबाट हुम्लाको सदरमुकाम सिमकोटका लागि महिनामा तीन पटकसम्म सामानहरु ढुवानी हुने गरेको छ । प्रतिकेजी ढुवाानी दर सत्तरी रुपैयाँ कायम छ । उक्त क्षेत्रमा मात्र तीन दर्जन खच्चड व्यवसायीहरुले सामान ढुवानी गर्दै आएका छन् । यी खच्चड ब्यबसायीहरु हुम्ला, मुगु, जुम्ला र जाजारकोटका समेत रहेको चंखेली गाउँपालिका–२ दार्मका लोकेन्द्र शाहीले बताए । उनका पनि २५ वटा खच्चडले सामान ढुवानी गर्दै आएका छन् । ब्यबसायीहरुले आफूसँग भएका खच्चड संख्याका आधारमा कमाई गर्ने शाहीले बताए । गोरखापत्र दैनिकबाट
हुम्ला खच्चड व्यवसायी सामान ढुवानी