News

ललिता निवास प्रकरण: गोप्य फाइल खोतल्दै सिआइबी

ललिता निवास प्रकरण: गोप्य फाइल खोतल्दै सिआइबी

काठमाडौँ। ललितानिवास जग्गा हिनामिना प्रकरणमा १ सय ७५ जनाविरुद्ध ठगी मुद्दा दर्ता भएसँगै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उनीहरुबारेका गोप्य फाइलसहितका कागजात खोतल्न सुरु गरेको छ।

विशेष अदालतमा शुक्रबार मुद्दा दर्तापछि सिआइबीले सम्बन्धित व्यक्ति तथा कार्यालयहरुबाटै कागजी प्रमाण झिकाएर भित्री अनुसन्धान सुरु गरेको हो। सिआइबीका प्रवक्ता बेलबहादुर पाण्डेले अनुसन्धानका क्रममा गोप्य फाइल अध्ययन गर्नुपर्ने बताए। उनका अनुसार सिआइबीले गर्ने बाँकी अनुसन्धानको पाटो मुख्यतया कागजी फाइल नै हुनेछ।

पुराना फाइल तथा दस्तावेजमात्रै नभएर व्यक्तिलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गर्ने योजना सिआइबीको छ। अनुसन्धानका लागि सरकारी निकायबाट पत्र झिकाउने कार्य सुरु भएको छ। ‘गहन कागजपत्र र अध्ययनपछि मात्रै यसको सत्यतथ्य बाहिर आउन सक्छ।

हामीले कागजातलाई मुख्य आधार बनाएका छौं,’ उनले भने, ‘सक्दो छिटो अनुसन्धान सकिन्छ। अहिले सरकारी निकाय तथा व्यक्तिहरुबाटै हामीले दस्तावेज माग गरिरहेका छौं।’ उनले ककसलाई पक्राउ गर्ने भन्नेबारे योजना बनिसकेको तर त्यसलाई अहिले सावर्जनिक गर्न नमिल्ने बताए। यो समाचार आजको नागरिक दैनिकमा शिवहरी घिमिरेले लेखेका छन।  

 

ललिता निवास

विशेष