News

१५ बर्षपछि नयाँ हवाई निती तयार: निजी जहाज राख्न पाउने व्यवस्था

१५ बर्षपछि नयाँ हवाई निती तयार: निजी जहाज राख्न पाउने व्यवस्था

काठमाडौं । सरकारले १५ वर्षपछि नयाँ राष्ट्रिय हवाई नीति तयार गरेको छ । नयाँ हवाई नीति तयार पार्न गठित कार्यदलले ‘राष्ट्रिय हवाई नीति २०७६’ को मस्यौदा बुधवार पर्यटन मन्त्रीलाई हस्तान्तरण गरेको छ ।

नयाँ नीतिले नागरिक उड्डयन क्षेत्रलाई प्रोत्साहित गरी निजीक्षेत्रको समेत सहभागितामा मुलुकको सामाजिक, आर्थिक विकासमा योगदान गर्न सक्ने तुल्याउने लक्ष्य लिएको छ । यस्तै नयाँ नीतिमा राष्ट्रिय हितलाई दृष्टिगत गरी विद्यमान उदार आकाश नीतिलाई प्रवर्द्धन गर्ने, अन्तरराष्ट्रिय उडान गर्ने विदेशी वायुयानबाट नेपालको वायुक्षेत्र एयर स्पेशको अधिकतम प्रयोग हुने व्यवस्था मिलाइने उल्लेख छ ।

सरकारले बदलिँदो परिवेशअनुसार नयाँ हवाई नीति बनाउन नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक तथा मन्त्रालयका पूर्वसचिव यज्ञप्रसाद गौतमको नेतृत्वमा सात सदस्यीय मस्यौदा कार्यदल गठन गरेको थियो । राष्ट्रिय हवाई नीति २०५० लाई १३ वर्षपछि परिमार्जन गरी हवाई नीति, २०६३ लागू भएको थियो । अहिले १५ वर्षपछि नयाँ नीतिको मस्यौदा तयार पारिएको छ । 

नीतिको मस्यौदामा नेपालीले पहिलोपटक निजी जहाज राख्न पाउने व्यवस्था गरिएको छ । यो नीति लागू भएपछि कुनै व्यक्ति वा व्यावसायिक घरानाले जहाज खरीद गरेर आफ्नै घरमा वा विमानस्थलमा राख्न पाउने छन् । व्यक्तिगत प्रयोजनका लागि राखिने जहाज सिंगल इन्जिनको हुनुपर्ने व्यवस्था छ । व्यावसायिक उडानमा भने सिंगल इन्जिनबाट उडान गर्न नपाइने व्यवस्था मस्यौदामा उल्लेख छ । यो समाचार टिपी भुषालले आजको आर्थिक अभियान दैनिकमा लेखेका छन।  

हवाई नीति

विशेष