News

मन्त्री बाँस्कोटालाई राजीनामा गर्न प्रधानमन्त्री ओलीले दिए निर्देशन

मन्त्री बाँस्कोटालाई राजीनामा गर्न प्रधानमन्त्री ओलीले दिए निर्देशन

काठमाडौंः सेक्युरिटी प्रेस खरिदमा कमिसन मागेको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई प्रधानमन्त्री केपी ओलीले राजीनामा दिन निर्देशन दिएका छन् । स्रोतका अनुसार स्वीस कम्पनीका एजेन्टसँग कमिसनको बार्गेनिङ गरेको अडियो टेप बाहिर आएपछि प्रधानमन्त्रीले मन्त्री बाँस्कोटालाई पदबाट राजीनामा दिन निर्देशन दिएका हुन् । 

सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटालाई प्रधानमन्त्रीले आजै राजीनामा गराउन लागेको बालुवाटार स्रोतले बताएको छ। हिजो राति बाँस्कोटाको कमसिन मागेको अडियो टेप सार्वजनिक भएको थियो।

नेपाल सरकारका सबै मन्त्रीहरू सरकारी निवासमा बस्दै आएका छन्। ललितपुरस्थित सरकारी निवासमा बस्नुपर्ने मन्त्री बाँस्कोटा भक्तपुरको बालकोटस्थित प्रधानमन्त्री ओलीको निजी निवासमा बस्दै आएका छन्। उनी ओलीका सबैभन्दा विश्वासपात्र मानिन्थे।

५ फागुन काभ्रेको धुलिखेल नगरपालिकाको स्थापना दिवसमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले काभ्रे जिल्लाको धेरै प्रशंसा गरेका थिए। उनले भनेका थिए, ‘काभ्रे प्रतिभा जन्माउने ठाउँ हो। प्रतिभा जन्माउने जिल्ला हो। यो कुरा विस्तारै प्रकट हुँदै गएको छ।’

उनी यतिमा नै रोकिएनन्, प्रशंसा गर्दै भनेका छन्, ‘आज देशमा राजनीतिक तुलो राख्ने हो भने तुलाको एकातिर गोकुल बाँस्कोटा अर्कोतिर अरू सबै भएको छ।’ अझै प्रशंसा गर्दै प्रधानमन्त्रीले भनेका थिए, ‘सरकारको विरोध गर्नुपर्‍यो भने गोकुल बाँस्कोटातिर हेर्नेवित्तिकै चुप लाग्ने।’

बालुवाटार स्रोतका अनुसार ओलीले उक्त अडियो डेढ महिना पहिला नै सुनेको बताइन्छ। अडियो सुनेको डेढ महिना बित्दा पनि ओलीले बाँस्कोटाको प्रशंसा गर्नु आफैँमा आश्चर्य हो।

बालुवाटार स्रोतले अडियो धेरै पहिला प्रधानमन्त्रीसम्म पुगेको बतायो। ‘तर, किन प्रधानमन्त्रीले बाँस्कोटालाई कारवाही गर्नुभएन अथवा राजीनामा माग्नुभएन हामी नै अचम्भित छौँ’, स्रोतले भन्यो।
 

गोकुल बास्कोटा बार्गेनिङ राजीनामा

विशेष