न्यून चापीय वायुको प्रभावले मेघ गर्जन र चट्याङसहित वर्षा हुने
काठमाडौँ – पश्चिमी न्यून चापीय वायुको प्रभावले शुक्रबार देशभर आंशिकदेखि पूर्ण बदली भइरहेकाे छ। उक्त वायुकाे प्रभावले केही स्थानमा मेघ गर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमी भेगका धेरैजसो स्थान र मध्य तथा पूर्वी भूभागका केही स्थानमा मेघ गर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।
महाशाखाले पश्चिमी भेगका धेरै र मध्य तथा पूर्वी भूभागका केही स्थानमा मेघ गर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको र पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । भोलि देशभर आंशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वी भूभागका केही स्थानहरु र पश्चिमी पहाडका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम नौ दशमलव आठ डिग्री र अधिकतम तापक्रम २० दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।