आरोप प्रमाणित भए बाँस्कोटालाई ८ बर्ष जेल!
काठमाडौँ । निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटामाथि लागेको आरोप प्रमाणित भए ८ वर्ष जेल सजाय हुनेछ। ७० करोड कमिसन प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्ययन सुरु गरेसँगै बाँस्कोटामाथि लागेको आरोप बारेमा विभिन्न टिकाटिप्पणी भइरहेको छ।
बिहीबार साँझ सादा पोसाकमा सञ्चार मन्त्रालयमा पुगेको सुरक्षाकर्मीको टोलीले बाँस्कोटाको कार्यकक्षमा छापा मारेको बताइएको छ । बाँस्कोटाको निजी सचिवालयका कागजपत्र नियन्त्रणमा लिएको अख्तियार स्रोतले बताएको छ ।
अख्तियार स्रोतका अनुसार मन्त्रीले प्रयोग गर्ने गरेको दराजमा रहेका कागजपत्र सिलबन्दी गरिएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा ७० करोड कमिसन मागेको प्रमाणित भए बाँस्कोटालाई ८ वर्षसम्म कैद र २५ करोड ४५ लाख रुपैयाँसम्म जरिवाना हुनसक्नेछ ।
बाँस्कोटाले कमिसन मागेको अडियो क्लिप सार्वजनिक भएपछि बिहीबार मन्त्री पदबाट राजीनामा दिइसकेका छन् । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २१ अनुसार भ्रष्टाचारको कसुरको लागि उद्योग गरेको ठहर भए ८ वर्षसम्म कैद र २५ करोड ४५ लाख रूपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था रहेको छ ।
७० करोडको ७० प्रतिशत अर्थात ५१ करोड ९० लाख उनले कमिसन पाउने भएपछि त्यसको आधा अर्थात २५ करोड ४५ लाख रुपैयाँ जरिवाना हुनसक्छ ।भ्रष्टाचार निवारण ऐनको परिच्छेद २ को दफा ३ अनुसार रू १ करोड भन्दा बढी भ्रष्टाचारको कसुर ठहर भए बिगोबमोजिम जरिवाना र ८ देखि १० वर्षसम्म सजाय हुने व्यवस्था छ । ऐनको दफा २१ अनुसारको व्यवस्था बाँस्कोटाको हकमा हुनेछ । त्यो भनेको कुल सजायको आधा हो ।