कुबेतमा ज्यान गुमाएका ६ जनाको शव नेपाल ल्याईयो
काठमाडौँ। गत बुधबार कुवेतको आवासीय सहर ‘साउथ अल मुत्तला सिटी’ मा गत पाइप बिछ्याउने क्रममा बालुवा, ढुंगाको ढिस्कोले पुरिएर मृत्यु भएका ६ जना कामदारको शव नेपाल ल्याईएको छ।
युनिभर्सल लिडरर्स एन्ड जेनेरल कन्स्ट्रक्टिङ कम्पनीले आफ्नै खर्चमा कुवेतबाट काठमाडौं सिधा उडान भर्ने जजिरा एयरलाइन्समार्फत मृतकहरूको शव नेपाल पठाएको हो ।
धैरेनी–१, चिडीपानी पाल्पाका ३० वर्षीय एकबहादुर गाहा, ताप्लेजुङका ४१ वर्षीय वसन्त गुरुङ र दाङका २५ वर्षीय श्यामनारायण चौधरीको शव बिहीबार बिहान काठमाडौं विमानस्थलमा उतारिएको हो । उनीहरूको शव परिवारले बुझेका छन् ।
दोधाना–७, सिरहाका ४० वर्षीय गंगाराम चौधरी, उवा–४, थवाङ, रोल्पाका २४ वर्षीय राजु रोका मगर र बन्जारिया–९, धरमपुर, नवलपरासीका २६ वर्षीय पूर्णबहादुर सुनारी मगरको शव पनि काठमाडौं आइपुगेको जनाइएको छ ।