News

देशैभर वर्षाको सम्भावना आज, कस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान?    

देशैभर वर्षाको सम्भावना आज, कस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान?     

काठमाडौंः आज मेघगर्जनसहित लगभग देशैभर वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायूबाट विकसित पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले शुक्रबार पश्चिमदेखि पूर्वसम्मै वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका हुन् । मौमस पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार पश्चिमी क्षेत्रका केही स्थानमा त बिहीबार रातिदेखि नै वर्षा भइरहेको छ।

‘अब यो सिस्टम बिस्तारै पूर्वतर्फ विकास हुँदै छ, बेलुकासम्म मध्य तथा पूर्वी क्षेत्रमा पनि वर्षा हुने देखिएको छ,’ मौसमविद् कँडेलले शुक्रबार बिहान नेपालखबरसँग भनिन्, ‘वर्षा त्यस्तो ठूलो त हुँदैन हल्का हुन्छ।’ तर मेघगर्जनसहित वर्षा हुने देखिएकाले चट्याङबाट जोगिन उनको सुझाव छ।

‘वर्षासँगै चट्याङ पनि पर्न सक्ने भएकाले घरबाट बाहिर ननिस्कने, घरभित्रै बस्ने तथा अन्यत्र भए होसियारी अपनाउने गर्न जरुरी देखिन्छ,’ उनले भनिन् । देशका विशेषगरी पहाडी क्षेत्रमा वर्षा हुने भए पनि तराई क्षेत्रमा पनि हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् कँडेलको अनुमान छ ।

आज पश्चिमदेखि पूर्वसम्मै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने सम्भावना छ। ‘हल्कादेखि मध्यमसम्म हिमपात हुने देखिएको छ,’ मौसमविद् कँडेलले भनिन्, ‘त्यसैले ती क्षेत्रका बासिन्दा तथा यात्रुले आज विशेष होसियारी अपनाउन आवश्यक छ।’ 

आगामी तीन दिनको मौसम पूर्वानुमान    

फागुन ९ गते शुक्रबार

दिउँसोः देशभर सामान्यदेखि पूर्णसम्म बदली रही पश्चिमी भेगका धेरै र मध्य तथा पूर्वी भू–भागका केही स्थानमा मेघ गर्जन–चट्याङसहित वर्षाको सम्भावना छ । पश्चिम तथा मध्य क्षेत्रका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा र पूर्वी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना देखिन्छ।

रातिः देशभर आंशिकदेखि सामान्यसम्म बदली रहने छ । पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन–चट्याङसहित वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना देखिन्छ ।

फागुन १० गते शनिबार

दिउँसोः देशभर आंशिकदेखि सामान्यसम्म बदली रही मध्य तथा पूर्वी भू-भागका थोरै स्थान र पश्चिमी पहाडका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना देखिन्छ।

रातिः पहाडी भेगमा आँशिक बदली रही बाँकी भेगको मौसम सामान्यतया सफा रहने छ।

फागुन ११ गते (आइतबार)

दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रहनेछ ।

रातिः देशभर आँशिक देखि सामान्य बदली रहनेछ ।

वर्षा न्यून चापीय प्रणाली मौसम पूर्वानुमान मौमस पूर्वानुमान महाशाखा

विशेष