News

कोरोना भाइरस संक्रमणः चीनको वुहानबाट यसरी फर्काइँदै छ नेपाली

कोरोना भाइरस संक्रमणः चीनको वुहानबाट यसरी फर्काइँदै छ नेपाली

काठमाडौंः कोरोना भाइरसको केन्द्रबिन्दु चीनको हुबेई प्रान्तको वुहानसहितका सहरबाट भारत, बंगलादेश, श्रीलंकाले आफ्ना नागरिक फिर्ता लैजान थालेपछि नेपाल सरकारले पनि ल्याउने तयारी गरेको छ । एयर लिफ्टमार्फत आफ्ना नागरिक फिर्ता गर्न चाहेको चिठी परराष्ट्र मन्त्रालयले १४ माघमा चीनको विदेश मन्त्रालयलाई पठाएकोमा सकारात्मक जवाफ आएपछि उद्धार प्रक्रिया सुरु भएको हो । 

नेपालबाट चीन जाने चार्टर्ड उडानको विस्तृत विवरण पाएपछि अनुमति प्रक्रिया थालिने चीनले जवाफ पठाएको छ । नेपाली जहाज कहिले जाने, नेपालीलाई लिन कतिजनाको मेडिकल टिम जाने, को–को जाने भन्ने विस्तृत विवरण चीनले मागेको छ । नेपालले चिनियाँ सर्तअनुसारको तयारी सुरु गरेको छ । 

नेपाल एयरलाइन्सको ए ३३० जहाज वुहानको तियान्हे अन्तर्राष्ट्रिय विमानस्थल पठाउन सकिने जानकारी नेपालले चीनलाई दिइसकेको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालका अनुसार हिमालयन एयरलाइन्सको जहाज पनि तयारी अवस्थामा राखिनेछ । चीनको अनुमतिपछि हुबेई प्रान्तमा रहेका र स्वदेश फर्किन इच्छुक सबै नेपालीलाई बसमार्फत वुहान सहर ल्याउने र त्यहाँबाट नेपाली जहाजमा स्वदेश ल्याउने नेपालको तयारी छ । 

बेइजिङस्थित नेपाली दूतावासले हुबेईमा रहेका र स्वदेश फर्कन चाहने नागरिकलाई फारम भर्न सूचना जारी गरेको छ । फारम भर्न आइतबार बिहान ९ बजेसम्मको समय दिइएको छ । यो सूचना सामाजिक सञ्जाल ‘विच्याट’मार्फत प्रसार गरिएको छ । ‘चीनमा नोबेल कोरोना भाइरसको संक्रमण बढिरहेको सन्दर्भमा नेपाल सरकारले हुबेई प्रान्तमा रहेका नेपालीलाई उद्धार गर्ने निर्णय गरेको छ । विशेष विमान ल्याउने योजनामा गृहकार्य भइरहेको छ, चाँडै नै यसबारे जानकारी दिनेछौँ,’ दूतावासको सूचनामा भनिएको छ ।

दूतावास उपनियोग प्रमुख सुशील लम्सालका अनुसार शनिबारसम्म हुबेई प्रान्तका ११ विश्वविद्यालयका एक सय ८८ नेपाली सम्पर्कमा आइसकेका छन् । अध्ययनरत विश्वविद्यालयमा उनीहरूको स्वास्थ्य जाँच गरेपछि कोरोना भाइरस संक्रमण नदेखिएकालाई विश्वविद्यालयका प्रतिनिधिको साथमा वुहानको विमानस्थल पठाउने तयारी छ । विमानस्थलमा उनीहरूको पुनः स्थास्थ्य जाँच गर्दा संक्रमण नदेखिए मात्रै स्वदेश फर्कन चीनले अनुमति दिनेछ । 

‘विभिन्न सहरबाट वुहानसम्म ल्याउन र स्वास्थ्य जाँचलगायतका प्रक्रिया पूरा गर्न केही दिन लाग्छ,’ लम्सालले भने, ‘अन्य सहरका नेपालीलाई वुहान ल्याउन बसको प्रबन्ध गर्दै छौँ ।’ यो प्रक्रिया पूरा गर्न केही दिन लाग्ने लम्सालले बताए । 

वुहानबाट कम्तीमा तीनदेखि आठ घन्टासम्मको यातायात दूरीमा नेपाली छन् । चीनको स्थानीय सरकारका अधिकारीले पनि नेपालीलाई स्वदेश फर्काउन सहजीकरण गरिरहेको छ । अहिलेसम्म वुहानलगायत कुनै पनि सहरमा कुनै पनि नेपालीलाई नोबेल कोरोना भाइरसको संक्रमण भने देखिएको छैन ।

जहाज तयारी अवस्थामा राखेका छौ–निगम 

नेपाल वायुसेवा निगमले चीनमा नेपाली उद्दार गर्नका लागि जहाज तयारी अवस्थामा राखिएको जनाएको छ । ‘निगमले कति नेपालीलाई उद्दार गर्नुपर्ने हो त्यसको विवरण आउने वित्तिकै जहाजको विवरण चीनलाई दिने छौ,’ निगमका प्रवत्ता अर्चना खड्काले भनिन् । परराष्ट्र मन्त्रालयले यात्रुको अन्तिम सूची पठाउनासाथ उडानको विस्तृत विवरण तयार हुने प्रवक्ता खड्काले भनिन् । निगमसँग हाल २७४ सिटक्षमताका दुई वाइडबडी र १५६ सिटका दुई न्यारोबडी जहाज छन् । ‘परराष्ट्रले यात्रु संख्या तोक्ने वित्तिकै हामी कुन जहाज पठाउने निर्णय गर्ने छौ,’ खड्काले भनिन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।  

नेपाल वायुसेवा निगम कोरोना भाइरस वुहान

विशेष