मालवाहक ट्रकले एक दर्जन सवारीलाई ठक्कर दियो, १ को मृत्यु

मालवाहक ट्रकले एक दर्जन सवारीलाई ठक्कर दियो, १ को मृत्यु

काठमाडौँ — कलंकीमा एक मालवाहक ट्रक अनियन्त्रित भएर १० वटा सवारी साधनलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य १० जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकीका इन्सपेक्टर पुरुषोत्तम कार्कीका अनुसार थानकोटबाट कलंकी आउँदै गरेको ना ६ ख २८७१ नम्बरको मालबाहक ट्रकको ब्रेक फेल भएर बा ४४ प १८१० को स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ३३ वर्षीय शमशेर गुरुङको मृत्यु भएको हो । चितवनको रत्‍ननगर नगरपालिका-१ घर भएका गुरुङको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको इन्सपेक्टर कार्कीले बताए ।

सोमबार राति ६ बजेर ४० मिनेटमा उक्त दुर्घटना भएको थियो । दुर्घटनाबाट २ वटा स्कुटर, ट्रक, बस, सरकारी गाडी, ट्याक्सी, मिनी ट्रक र स्कारपियो गरी १० वटा सवारीमा क्षति पुगेको छ ।प्रहरीले ट्रक चालक सर्लाही घर भएका वीरेन्द्रकुमार साहलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार थानकोटबाट कलंकी आउँदै गरेको उक्त ट्रकले सुरुमा यातायात व्यवस्था विभागको गाडीको टायरलाई छोएर उत्तरतर्फबाट आउँदै गरेको ट्याक्सीलाई ठक्कर दिएको थियो । त्यसपछि दक्षिणबाट बाटो पार गर्दै गरेका स्कारपियो,मिनी ट्रक र स्कुटरलाई ट्रकले ठक्कर दिएको थियो ।

महानगरीय प्रहरी प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले अहिले घटनास्थलबाट उद्धार गर्ने काम भइरहेको र बाटो खुलाइएको बताए । उनलेदुर्घटनाबारे थप वृस्तुत विवरण आउन बाँकी रहेको बताए ।

संम्बधित खबर

विशेष