जनप्रतिनिधि हुनु त यस्तो पो! आफ्नो सुविधाले २ एम्बुलेन्स खरिद
काभ्रेपलाञ्चोकः जनप्रतिनिधिले ‘मानवीय सेवामा कसरी सहयोग पुर्याउनु पर्छ’ भन्ने उदाहरण रोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्तौला बनेकी छन् ।
उनले आफूलाई सवारीसाधन खरीद गर्न छुट्याइएको बजेटले दुई एम्बुलेन्स खरिद गरी मानवीय सेवामा सहयोग पुर्याउएकी छन् । गाउँपालिकाको कार्यपालिका बैठकबाट पारित गरी एम्बुलेन्स खरिद गरिएको जनाइएको छ ।
वडा नं ५ र ११ मा रहने गरी दुवै वडास्थित एम्बुलेन्स सञ्चालन समितिका अध्यक्षद्वयलाई आइतबार कार्यक्रममा संविधानसभा सदस्य तीर्थ लामाले हस्तान्तरण गरिन् । सरकारद्वारा कर छुटसहित २१ लाख ५२० मा दुई एम्बुलेन्स खरिद गरिएको हो ।
ती एम्बुलेन्सबाट रोशी गाउँपालिकाको ३५ हजार बासिन्दाका साथै नमोबुद्ध नगरपालिका, महाभारत गाउँपालिका, तेमाल गाउँपालिका तथा छिमेकी जिल्ला सिन्धुलीको सुनकोशी गाउँपालिकाका बासिन्दा लाभान्वित हुने छन् ।
उपाध्यक्ष बर्तौलाले आफ्नो सुविधाभन्दा पनि पालिकावासीको आवश्यकता मध्यनजर गरी एम्बुलेन्स खरिद गरिएको कार्यक्रममा बताइन् । गाउँपालिकाले उपाध्यक्षलाई गाडी खरिद गर्न गत आर्थिक वर्षमै २६ लाख रकम छुट्याएको थियो । गाउँपालिका अध्यक्ष दलबहादुर लामाले उपाध्यक्षले उदाहरणीय काम गरेकोमा खुशी व्यक्त गरे ।
बर्तौलाले गाउँपालिकाको उपाध्यक्ष निर्वाचित भएदेखिनै गाउँपालिकाको कुनै पनि सवारीसाधन प्रयोग गरेकी छैनन् । ‘अध्यक्षको गाडी अहिलेसम्म दुईपटक मात्रै चढेको छु, मैले निर्वाचित भएदेखि नै घरबाट गाउँपालिका कार्यालय आउन जान सार्वजनिक यातायात प्रयोग गर्दै आएको छु’ उनले भनिन् । भौगोलिकताले विकट एवं पहाडी भू–भाग भएकाले गाउँपालिकाका बासिन्दाले समयमै उपचार पाउन् भन्ने उद्देश्यले आफ्नो सवारी बजेटबाट एम्बुलेन्स खरिद गर्न लगाएको उन बताइन् । रासस
काभ्रेपलाञ्चोक जनप्रतिनिधि एम्बुलेन्स लक्ष्मी बर्तौला