News

१०० बर्ष पूरानो गुम्बाको बहुमूल्य सामान चोरियो

१०० बर्ष पूरानो गुम्बाको बहुमूल्य सामान चोरियो

सङ्खुवासभाः सिलिचोङ गाउँपालिका–२ बालाको सय बर्ष पूरानो बौद्ध स्तुपा टोडफोड गरि त्यस भित्र रहेको पुरातात्वीक धातुहरु चोरी भएको थियो । त्यस भित्र एउटा बुद्धको मूर्ती मात्र छोडिएर अन्य सम्पूर्ण वस्तुहरुको चोरी भएको थियो । भत्किएको उक्त स्तुपा र मूर्तीको सुरक्षाको लागि सिसुवाटार प्रहरी चौकीबाट प्रहरी टोली खटाईएको थियो ।

उक्त प्रहरी टोलीको सुरक्षाकोबीच छोडिएको उक्त मुर्ती पनि आइतबार राती चोरी भएको छ । घटनास्थलमा खटिएको दुई जना प्रहरीहरुले सुरक्षा गर्दा गर्दै उक्त मूर्ती चोरी भएको हो । उक्त मुर्ती पनि चोरी भएको बिहान उज्यालो भएपछि मात्र थाहा भएको वडा नम्बर २ का अध्यक्ष मोहनसंशेर कुलुङले बताए । पुनः चोरी घटनाको बारेमा प्रहरीहरुसँग बुझ्दा नजिकै रहेको घरमा खाना खान गएको बेला चोरी भएको हुनसक्ने अध्यक्ष कुलुङले बताए । 

बालामा एउटै समयमा दुईवटा स्तुपा भत्काईएको थियो । उक्त स्तुपा भित्र बहुमुल्य बस्तुहरु रहेको चर्चा थियो । उक्त बस्तुहरु चोरी गर्नकै लागि स्तुपा भत्काईएको वडा अध्यक्ष कुलुङले बताए । वि.सं. १९७९ मा स्थापना गरिएको उक्त स्तुपा भित्र सोही समयमा राखिएको पुरातात्विक वस्तुहरु रहेको स्थानीय जानकारहरुलाई उदृढ गर्दै कुलुङले बताए । बर्षौ अघिदेखिको मुद्रा, सुन, चाँदी, तामा लगायतको धातुहरु स्तुपा भित्र राखिएको जेष्ठ जानकारहरुले बताएको अध्यक्ष कुलुङको भनाई छ ।

यस अघिको पटक पटकको चोरी घटनामा कोही पनि कारबाहीमा नपरेपछि सुरक्षा निकायसँग रुष्ट हुँदै आएको स्थानीयहरु प्रहरीकै निगरानीमा रहेको पुरातात्विक वस्तु हराउनु सामान्य नरहेको प्रतिकृया दिन थालेका छन् । सिलिचोङ क्षेत्रमा पछिल्लो समय चोरीको घटना बढ्दो अवस्थामा रहेपनि सुरक्षा ब्यवस्था कमजोर रहेको स्थानीयको आरोप छ । चोरीका पिडितहरुले प्रहरीमा उजुरी दिए पनि अहिलेसम्म कोही पनि कारबाहीको दायरामा आउन नसक्नुले अनुसन्धान अत्यन्तै फितलो रहेको स्थानीयको भनाई छ ।

प्रहरीबाट कुनै पनि घटनाको गहन अनुसन्धान नहुँदा अपराधीक मानसिकता भएकाहरुलाई प्रश्रय मिलेको स्थानीय ईन्द्रबहादुर कुलुङको भनाई छ । केही बर्ष अघि उक्त घटनास्थल नजिकै रहेको बाला माविको विद्यालय भवन तोडफोड गरि कम्प्युटर चोरी गर्नेको पनि पहिचान हुन सकेको थिएन । दुई हप्ता अघि सिलिचोङ गाउँपालिकाको कार्यालय परिसरमा रहेको मोटरसाईकल चोरी गर्ने पनि अहिलेसम्म पत्ता लाग्न सकेको छैन । सिसि टिभिको फुटेज समेत प्रहरीलाई उपलब्ध गराएपनि अहिलेसम्म चोरी गर्नेको पहिचान हुन सकेको छैन । –गाेरखापत्र दैनिकबाट 

सङ्खुवासभा गुम्बा

विशेष