श्रममन्त्री यादव आज मौरिसस जाँदै
काठमाडाैँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादव आज (मंगलबार) मौरिसस जादै छन् । गत जेठ महिनामा नेपाल र मौरिससबीच भएको श्रम समझदारीको कार्यन्वयन प्रक्रियाको टुङ्गो लगाउन मन्त्री यादवसहितको सरकारी टोली मौरिसस जान लागेको हो।
मन्त्रालयका प्रवक्ता सुमन घिमिरे भने,‘श्रम समझदारी गरेको लामो समय भएपनि कार्यन्वयनमा आउन सकेको छैन, भ्रमणले द्विपक्षीय श्रम समझदारीको कार्यान्वयनका लागि कामदार छनौट प्रक्रिया, सेवा सुविधा तथा बीमालगायतका विषय टुंगो लगाउने छ।
गत २८ जेठमा अन्तर्राष्ट्रिय श्रम संगठनको कार्यक्रममा भाग लिन स्वीजरल्यान्ड गएका तत्कालिन श्रम मन्त्री गोकर्ण विष्ट र मौरिससका औद्योगिक सम्बन्ध, रोजगार तथा तालिममन्त्री सुदेश एल क्यालीचर्नबीच श्रम समझदारी पत्रमा हस्ताक्षर भएको थियो । मौरिससमा होटल, अतिथि सत्कार र उत्पादनमुलकका क्षेत्रमा ठूलो संख्यामा नेपाली कामदार पठाउन सकिने सम्भावना छ ।