नेपाल ट्रष्टको सम्पत्ति क कसले प्रयोग गरे ? (पूर्ण पाठसहित)
काठमाडौं - सरकारले नेपाल ट्रष्टको नाममा रहेको चल अचल सम्पत्ति विवरण श्वेतपत्रमार्फत सार्वजनिक गरेको छ । ट्रष्टका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार पत्रकार सम्मेलनमार्फत श्वेतपत्र जारी गरेका हुन् ।
नेपाल ट्रष्टको नाममा देशभर करिब २२ हजार रोपनी जग्गा रहेको छ । सोमध्ये १५ हजार रोपनी त जंगलमात्रै छ । त्यस्तै काठमाडौंका केही महँगा ठाउँको जग्गा बिभिन्न कम्पनीले लिजमा प्रयोग गरेको पाइएको छ ।
२०६४ सालमा नेपाल ट्रष्ट बनेपछि ती सम्पत्ति राजा वीरेन्द्र र उनका परिवारका नामबाट ट्रष्टमा ल्याइएको थियो । त्यसपछि धेरैजसो काठमाडौंका महँगा ठाउँका जग्गाको पुनः लिज सम्झौता २०६६ पुस र माघमा मन्त्रिपरिषदबाट गराइएको पाइएको छ ।
ट्रष्टमा तत्कालिन राजपरिवारको नामबाट आएको रकम अमेरिकी डलर एक लाख ४८ हजार ५८१ र ब्रिटिस पाउन्ड स्टर्लिङ ५० हजार १२४ खातामा रहेको पाइएको छ । ट्रष्टले विभिन्न बैंक तथा बित्तिय संस्थाको शेयर समेत खरिद गरेको छ ।
तत्कालिन राजा वीरेन्द्रको परिवारका नाममा रहेको २१ हजार ५६२ रोपनी जग्गा नेपाल ट्रष्टको स्वामित्वमा आएको श्वेतपत्रमा उल्लेख छ । सो मध्ये सबैभन्दा बढी ४ हजार ४४२ रोपनी जग्गा काठमाडौं जिल्लामा मात्रै भेटिएको छ ।
दरबारमार्ग,लाजिम्पाट,कमलादी,कालिमाटी,ताहाचल,छाउनी जस्ता महँगा ठाउँका जग्गा व्यापारिक प्रयोजनमा लिज र भाडामा मा दिइएका छन् । नेपाल ट्रष्टको घरजग्गा प्रयोग गर्नेमा थामसेर्कु ट्रेकिङ,टाउन डेभलपर्स,कन्सेप्ट डेभलपर्स, स्टाण्डर्ड चार्डर्ड बैंक लगायतका निजी कम्पनीहरु छन् ।
काठमाडौं सहित भक्तपुर, ललितपुर, नुवाकोट, मकनवानपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक , धनकुटा, सुर्खेत, कास्की, चितवन र धादिङमा तत्कालिन राजपरिवारको जग्गा जमिन पाइएको छ । रामेछाप दोलखा लगायतका जिल्लामा जमिन खोज्ने क्रम चलिरहेको छ ।