४ सय ट्यांकरको ताला खोल्ने ‘मास्टर की’ गायब, सिनामंगल डिपोबाटै चोरी हुन्छ इन्धन

काठमाडौंः चार सय ट्यांकरको ताला खोल्ने ‘मास्टर की’ गायब नेपाल आयल निगमकोे सिनामंगलस्थित सबैभन्दा ठूलो हवाई इन्धन डिपोमा तेल बोकेर आउने सबै ट्यांकरको ताला खोल्ने साझा साँचो (मास्टर की) हराएको छ । साँचो हराएको पुष्टि १९ माघमा भएको हो । तर, अहिलेसम्म भेटिएको छैन । हराएको ‘मास्टर की’ले भारतीय आयल कर्पोरेसन (आइओसी) को रक्सौल डिपोदेखि सिनामंगलस्थित निगमको हवाई इन्धन डिपोमा तेल ओसार्ने एक सय ८१ ट्यांकरको ताला खुल्छ । त्यस्तै, बागमती प्रदेशमा इन्धन वितरण गर्ने थानकोट डिपोका दुई सय ट्यांकरको लक पनि सोही साँचोले खोल्न मिल्छ ।
साझा साँचो हराएको संयोग ट्यांकर चालकको माग सम्बोधन भएको समयसँग मिलेको छ । तापक्रम नोक्सानीबापत तेलको जति परिमाण देखाए पनि निगमले छुट दिने लिखित सहमति १४ माघमा आयल निगम र ट्यांकर चालकबीच भएको थियो । सिनामंगल डिपोमै तेल ओसार्दै आएका ट्यांकर चालकले राखेको माग निगमले सम्बोधन गरेको थियो । त्यसको ५ दिनपछि साँचो हराएको पत्ता लागेको हो । साँचो चालकको हातमा परेको भए आइओसीबाट तेल बोकेर आउनले ट्यांकर बाटैमा रोकेर केही परिमाण तेल चोर्न सहज भएको छ ।
चोरी गरेको तेल परिमाणलाई चालकले तापक्रम नोक्सानीमा देखाइदिन सक्छ । यसकारण साँचो चालककै हातमा पुगेको अनुमान छ । ‘ट्यांकरको प्रत्येक चेम्बरमा केही परिमाण तेल झिक्यो भने अहिले कारबाही नहुने व्यवस्था छ । त्यसैले हराएको साँचो ट्यांकर चालकको हातमा पुगेको हुनुपर्छ,’ निगमको केन्द्रीय कार्यालयका एक कर्मचारीले भने । १ चैत ०७४ देखि तेल चोरी गर्न नमिल्ने लकिङ लगाउन थालेपछि चालकहरूले विरोध गरेका थिए ।
हवाई इन्धन डिपोमै इन्धन ओसार्ने चालक संगठनका अध्यक्ष पशुपति पाठकले त इन्धन चोरी गर्न पाउनुपर्ने भन्दै सार्वजनिक मञ्चबाटै उद्घोष गरेका थिए । तत्कालीन निमित्त प्रमुख सुशील भट्टराईले पनि लकिङलाई साथ दिन अनुरोध गर्दै चालकहरूलाई केही न केही सुविधा दिने आश्वासन दिएका थिए । साँचो हराएको विषयमा छानबिन गर्न नायब प्रबन्ध निर्देशक विशाल ओझाको संयोजकत्वमा २३ माघमा कमिटी गठन भएको छ । तर, यो कमिटीले अहिलेसम्म चोरी घटनाबारे ठोस प्रमाण फेला पारेको छैन ।
सिनामंगल डिपोबाटै चोरी हुन्छ इन्धन
इन्धन चोरीमा सिनामंगलस्थित हवाई इन्धन डिपो अगाडि छ । गत चैतमा सोही डिपोबाट दुई हजार लिटर तेल दिउँसै चोरी भएको थियो । त्यतिखेर निजी वायुसेवा कम्पनी श्री एयरलाइन्सले ६ हजार लिटर इन्धन ड्रममा लैजाने स्वीकृति लिए पनि गेटबाट बाहिर आउँदा आठ हजार लिटर लगेको भेटिएको थियो ।
घटनामा संलग्न सबै कर्मचारी कारबाहीमा परेका थिए । त्यस्तै, चार वर्षअघि साउनमा गुणस्तर तथा नापतौल विभागले सिनामंगलकै डिपोमा अनुसन्धान गर्दा दिउँसोको औसत तापक्रमभन्दा बिहान र बेलुकाको चिसो औसत तापक्रम बढी देखाएर तेल अपचलन गरेको भेटिएको थियो । डिपोमा तीन महिनामा ५ करोडको तेल चुहावट हुँदा २ करोड ५९ लाख रुपैयाँको तेल भने कर्मचारी र चालकले मिलेर चोरी गरेको पुष्टि भएको थियो ।
विभागको रिपोर्टअनुसार ट्यांकरबाट प्राप्त गरेको तेलको तापक्रम उल्लेख भए पनि सोही तेल बिक्री गर्दाको तापक्रम भने लुकाइएको थियो । भारतबाट औसत ३४.९९ डिग्री सेल्सियसमा ट्यांकर चलान भई सिनामंगलस्थित डिपोमा २६.२७ डिग्रीमा आइपुगेको थियो । उक्त तेल २९.०६ डिग्री तापक्रममा बिक्री भएको थियो । यहाँ चलान भएको र प्राप्त भएको तापक्रमको अन्तर ८.२७ डिग्री (३४.९९–२७.२७) बनाएर दररेटअनुसार आउने तापक्रम नोक्सानीबापत तेल झिकिएको थियो । तर, ५.९३ डिग्रीको अन्तरमा (३४.९९–२९.०६) तेल बचेको विषय लुकाइएको थियो । यसरी ५.९३ डिग्रीमा वास्तविक नोक्सानी भएकाले सोहीअनुसार तापक्रम नोक्सानी हुनुपर्ने प्रतिवेदनले ठहर्याएको थियो । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।
ट्यांकर नेपाल आयल निगम इन्धन मास्टर की सिनामंगल डिपो