विदेश

दिल्लीमा हिंसात्मक प्रदर्शन, प्रहरीसहित ४ जनाको मृत्यु

दिल्लीमा हिंसात्मक प्रदर्शन, प्रहरीसहित ४ जनाको मृत्यु

काठमाडौंः भारतको राजधानी दिल्लीमा हिंसात्मक प्रदर्शन भएको छ । प्रदर्शनमा ढुंगामुढा र गोली लागेर एक प्रहरीसहित चार जनाको मृत्यु भएको छ । दिल्लीको उत्तरपूर्वी क्षेत्रमा नागरिकता संशोधन कानुनको विरोधमा भएको हिंसात्मक प्रदर्शनका क्रममा तीन सर्वसाधारण र एक प्रहरीको मृत्यु भएको समाचार एजेन्सी एएनआईलाई उधृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

संशोधित नागरिकता ऐनको विरोध र समर्थनमा दिल्लीको मौजपुर र आसपासका क्षेत्रमा दुई दिनदेखि प्रदर्शन जारी छ। दोस्रो दिन सोमबार प्रदर्शनले हिंसात्मक रूप लिएको हो । सोमबार बिहानैदेखि दुवै पक्षबीच ढुंगा हानाहान भएको थियो। प्रदर्शन उग्र बन्दै गएपछि दिल्ली मेट्रोका आधा दर्जन स्टेसन बन्द गरिएका थिए।

सोमबार प्रदर्शनकारीले मौजपुर, कर्दामपुरी, चाँदबाग र दयालपुर क्षेत्रमा सार्वजनिक सवारीसाधन, घर र पसलहरूमा आगजानी गरेका थिए । प्रदर्शनकारीहरुले दिल्लीको गोकुलपुरीस्थित पुरानो टायर बजारमा आगजनी गरेका थिए। उग्र भीडले पेट्रोल बम समेत प्रहार गरेका थियो।

प्रदर्शनका कारण उक्त क्षेत्रमा रणभूमिमा परिणत भएको थियो । सोमबारको हिंसात्मक प्रर्दशनमा ११ प्रहरी र ५० भन्दा बढी सर्वसाधारण घाइते भएको बताइएको छ। घाइते प्रहरीमध्ये एकजना डीसीपीसमेत छन्।

प्रदर्शनकै क्रममा ढुंगा लागेर घाइते प्रहरी हवल्दार रतनलालको उपचारका क्रममा मृत्यु भयो भने प्रहरीको गोली र प्रदर्शनकारीको आक्रमणमा अन्य तीन सर्वसाधारणको ज्यान गएको छ।  अबेर रातिसम्म पनि स्थिति नियन्त्रणमा नआएपछि अर्धसैनिक बललाई परिचालन गरिएको छ। 

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले घटनाप्रति दुःख व्यक्ति गर्दै गृह मन्त्रालयलाई स्थिति नियन्त्रण लिनका लागि पर्याप्त मात्रामा प्रहरीलाई खटाउन आग्रह गरेका छन्।

परिस्थितिलाई ध्यानमा राख्दै दिल्ली सरकारले उत्तरपूर्व जिल्लाका सम्पूर्ण शैक्षिक संस्थाहरुलाई मंगलबार बन्द गर्न निर्देशन दिएको छ। यसैगरी दिल्ली प्रहरीले त्यसक्षेत्रमा धारा १४४ समेत लागू गरेको छ।

केही नेताहरुले प्रधानमन्त्री नरेन्द्र मोदी र गृह मन्त्री अमित शाहले राजधानीमै हिंसा हुँदा समेत मौनता साँधेको भन्दै आलोचना गरेका छन्।
 

दिल्ली हिंसात्मक प्रदर्शन

विशेष