News

ज्योति मगरको ‘डान्स’ ले महोत्सवमा तनाव, ५ जना पक्राउ

ज्योति मगरको ‘डान्स’ ले महोत्सवमा तनाव, ५ जना पक्राउ

महेन्द्रनगरः कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा चलिरहेको सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव–२०७६ बाट ५ जनालाई नियन्त्रणमा लिइएको हो । 

गायिका ज्योति मगर स्टेजमा नाचिरहँदा उत्तेजित युवाहरुको समूहले होहल्ला गर्दै मञ्चमै चढ्ने प्रयास गरेपछि मेलामा झडपको स्थिति आएको थियो । सोमबार गायिका मगर, गायक सुरेश चोखाल, बेली डान्सर बिनु शाक्यको प्रस्तुति रहेको थियो । ज्योति मगरको प्रस्तुतिका बेला होहल्लाका साथै उच्छृंखल गतिविधि भएको हो । उत्तेजित भिडलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्जसमेत गरेको छ । त्यसक्रममा केही युवा घाइते भएका छन्।

झडपमा तीन प्रहरीसमेत घाइते भएका प्रहरीले जनाएको छ । महोत्सवमा उच्छृंखल गतिविधि गर्ने ५ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक सुरज कार्कीले बताए। पक्राउ पर्नेमा भुवन विष्ट, २२ वर्षीय महेन्द्र बुढा, २१ वर्षीय दिलिप विष्ट, २३ वर्षीय अभिसेक खड्का र २४ वर्षीय भुवन विष्ट छन्।
 
महोत्सवको स्टेज अगाडि निर्माण भएको काठको पर्खालमा समेत युवाहरुको समूहले क्षति पुर्‍याएको छ। युवाहरुको समूह मेला सचिवालय रहेको स्टिलमा समेत पुगेको थियो। 
 

कञ्चनपुर ज्योति मगर महोत्सव

विशेष