दिल्लीमा नागरिकता विषयलाई लिएर हिंसात्मक प्रदर्शन, सुरक्षाकर्मीसहित सात जनाको मृत्यु
काठमाडौं – दिल्लीमा हिंसा भड्किँदा सुरक्षाकर्मीसहित सात जनाको ज्यान गएकाे छ । विवादास्पद नयाँ नागरिकता कानूनको विषयलाई लिएर सोमबार राजधानी दिल्लीस्थित भजनपुरा क्षेत्रमा हिंसा भड्किँदा एक जना सुरक्षाकर्मीसहित सात जनाको ज्यान गएकाे हाे । हिंसात्मक प्रदर्शनमा परी एक जना सुरक्षाकर्मी र चारजना गैर–सैनिकहरूको मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएकाे छ।
उपचारको क्रममा मंगलबार बिहान अन्य तीन जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । तर मृतकका बारेमा विस्तृत जानकारी भने उपलब्ध भइसकेको छैन । जीटीबी अस्पतालमा तीन दर्जन भन्दा बढी घाइतेहरुको अहिले पनि उपचार भइरहेको जनाइएको छ । उक्त नयाँ नागरिकता कानूनका समर्थक र विरोधीहरूबीच भएको मुठभेडका क्रममा सवारीसाधनहरूमा आगो लगाइएको थियो ।
भारत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना समकक्षीसँग वार्ताको तयारी गर्दैगर्दा राजधानी दिल्लीका केही भाग तनावपूर्ण अवस्थामा छन् । उत्तर–पूर्वी दिल्लीस्थित मुसलमान बाहुल्य भएका क्षेत्रहरूमा आइतबारदेखि हिंसा सुरु भएको थियो जुन सोमबार पनि जारी रह्यो । गत वर्षदेखि विरोध प्रदर्शन आरम्भ भएयता प्रहरी अधिकारीले ज्यान गुमाएको यो पहिलो घटना हो ।