News

अल्पमतमा परेपछि नेपाल फकाउँदै ओली

अल्पमतमा परेपछि नेपाल फकाउँदै ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग सम्बन्ध सुधारको प्रयास गरेका छन्। पछिल्लो पटक मंगलबार दिउँसो पनि ओली र नेपालबीच बालुवाटारमा दुई घण्टा छलफल भएको छ। बालुवाटार निकट स्रोतका अनुसार ओलीले नै नेपाललाई बोलाएर भेटघाट गरेका हुन्। बुधबार बिहान सचिवालय बैठक डाकिएको छ। सचिवालय बैठकको अघिल्लो दिन भएको भेटमा पार्टीभित्र देखिएको समस्या, संविधान संशोधन तथा गौतम निवासमा भएको भेलाबारे छलफल भएको थियो।

प्रधानमन्त्री ओली सोमबार काठमाडौंबाहिर रहेका बेला पार्टीका अर्का अध्यक्ष दाहाल र नेपालबीच पार्टी कार्यालयमा भेटघाट भएको थियो। त्यसकै भोलिपल्ट नेपाललाई ओलीले बालुवाटार बोलाएका हुन्। ‘उहाँहरुबीच दिउँसो छलफल भएको थियो। पार्टी एकतापछि देखिएको समस्या, सरकार सञ्चालन र अन्य व्यक्तिगत विषयमा कुराकानी भएको छ’, बालुवाटारनिकट स्रोतले भन्यो। सचिवालय बैठकमा वरिष्ठ नेता नेपालकै संयोजकत्वमा संविधान संशोधन कार्यदल बनाउनेबारे छलफल भएको थियो।

त्यसबेला प्रधानमन्त्री ओली र नेपाल दुवै मौन बसेका थिए। दुवै जनाले कुनै प्रतिक्रिया नदिएका बेला सो विषय बाहिर चुहिएपछि दाहालले नेपालसँग भेटघाट गरेका थिए। त्यसपछि ओलीले नेपाललाई बोलाएर संविधान संशोधन र पुस २३ गते वामदेव गौतमको घरमा भएको भेलाबारे पनि छलफल गरेका हुन्। गत भदौमा ओली र नेपालबीच विवाद भएपछि करिब तीन महिना बोलचाल नै बन्द भएको थियो।

ओली स्वास्थ्यउपचारका लागि सिंगापुर जानुअघि बसेको सचिवालय बैठकमा उनीहरुबीच विवाद भएको थियो। पार्टीका हरेक निर्णयमा ओली हावी भएपछि पुस २३ गते गौतमको घरमा भएको भेलाले ओलीविरुद्ध मोर्चाबन्दी गर्ने निर्णय गरेको थियो। उक्त बैठकमा सचिवालय सदस्य ईश्वर पोखरेल र विष्णु पौडेलबाहेक अरु नेता सहभागी थिए। त्यसपछिका सचिवालय बैठकमा ओली कमजोर देखिएका छन्। ओलीलाई साथ दिँदै आएका गौतमले पनि साथ छाडेपछि अर्का अध्यक्ष दाहाल हावी हुन थाले। मंसिरमा कार्यकारी अध्यक्षको जिम्मेवारी पाएका दाहालले दुईपटक ओलीबिना नै सचिवालय बैठक राखिसकेका छन्।

गत शनिबारको सचिवालय बैठकमा संविधान संशोधन, उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने तथा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) विषयमा छलफल भएको थियो। सचिवालयमा भएको छलफल सार्वजनिक भएपछि पार्टीभित्र हलचल पैदा भएको छ। सचिवालय बैठकमा भएको छलफल बाहिर नल्याउने भद्र सहमति उल्लंघन भएपछि दाहाल र ओली सशंकित बनेका थिए। आइतबार संविधान संशोधनका लागि सचिवालय बैठकले कार्यदल बनाउने ‘निर्णय’ गरेको भन्दै समाचार आउन थालेपछि ओलीले दाहाललाई सोमबार बिहान बालुवाटार बोलाएर ‘कसले सार्वजनिक गरेको, किन यस्तो भएको’ भन्दै प्रश्न गरेका थिए। सोमबार नै दाहालले नेपाल र महासचिव विष्णु पौडेलसँग सोही विषयमा छलफल गरेका थिए। दाहाल र नेपाल नजिकिँदै गएका बेला ओलीले पनि नेपाललाई बोलाएर सन्तुलन मिलाउन खोजिरहेका छन्।

बालुवाटार निकट स्रोतका अनुसार कात्तिक २६ गतेपछि ओली र नेपालबीच दर्जनपटक भेट भए पनि सम्बन्ध सुधारको संकेत मिलेको छैन। सातवटै प्रदेश प्रमुखको नियुक्तिमा नेपाल समूहका एकजना पनि नपर्नु, राष्ट्रियसभाको निर्वाचनमा वेदुराम भुसालबाहेक अन्य कोही पनि नेपाल समूहबाट नपर्नुले पनि उनीहरुको सम्बन्धमा सुधार नआएको स्पष्ट छ। ‘उहाँहरुबीच भेटघाटमात्रै हुन्छ, सार्थक निष्कर्ष निस्कँदैन’, नेपाल निकट एक नेताले भने। उनका अनुसार ओलीले फकाउन खोजे पनि विगतको व्यवहारले नेपाल फकिने अवस्था छैन। दुई नेताको भेटमा एमसिसी संसद्मा टेबुल गर्ने विषयमा पनि छलफल भएको स्रोतले जनाएको छ। यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन। 

केपी शर्मा ओली माधव नेपाल

विशेष