दिल्ली प्रदर्शन: मृतकको संख्या १३ पुग्यो, डेढ सयभन्दा बढी घाइते
नयाँ दिल्ली। भारतको राजधानी नयाँदिल्लीको उत्तरपूर्वी क्षेत्रमा तीन दिनअघि सुरु भएको प्रदर्शन भड्किँदा पछिल्लो २४ घण्टामा १३ जनाको ज्यान गएको छ भने डेढ सयभन्दा बढी घाइते भएका छन् । ठूलो मात्रामा निजी र सार्वजनिक सम्पत्तिमा क्षति पुगेको छ ।
संशोधित नागरिकता ऐनविरुद्ध स–साना झडपका बीच आइतबार प्रदर्शन सुरु भएको थियो । यसले सोमबार कतिपय स्थानमा साम्प्रदायिक (हिन्दु–मुस्लिम) रूप लियो । यस क्रममा जीउधनको क्षति भएको छ । मंगलबार दिल्लीको उत्तरपूर्वी क्षेत्र थप तनावपूर्ण बनेको थियो । प्रदर्शनकारी बिहानैदेखि सडकमा आएका थिए । दुवै पक्षबीच ढुंगा हानाहान चल्यो । घर, पसल तथा सवारीसाधनमा आगजनी गरिए । प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास र गोलीसमेत प्रहार गर्यो ।
घटनास्थल पुगेका एम्बुलेन्सलाई समेत अवरोध पुर्याइएपछि घाइतेलाई मोटरसाइकल र भ्यानमा राखेर अस्पताल पुर्याइएको थियो । उग्र भीडले पत्रकारहरूमाथि पनि हमला गरेको छ । हमलामा एनडीटीभी, एबीपीका पत्रकारहरू घाइते भएका छन् । केही पत्रकारमाथि गोली प्रहार भएको छ ।
दिल्ली प्रदर्शन