News

मेलम्ची खानेपानी आयोजना तीन महिनादेखि ठप्प

मेलम्ची खानेपानी आयोजना तीन महिनादेखि ठप्प

काठमाडौँ। मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय (दोस्रो) को काम तीन महिनादेखि ठप्प छ । ठेकेदार कम्पनीले फोहोर प्रशोधन केन्द्र निर्माण, पाइप बिछ्याउनेलगायतका काममा तीव्रता नदिएपछि ठप्प रहेको हो ।

सरकारले असारभित्र मेलम्चीको पानी उपत्यका ल्याउने प्रतिबद्धता जनाए पनि पाइप बिछ्याउने, धारा जडान, फोहोर प्रशोधन केन्द्रको काममा भने अन्योलता छाएको छ । ‘सुरुङ र हेडवर्कस निर्माण काममा तीव्रता पाएको छ,’ खानेपानी तथा सरसफाइ मन्त्रालयका एक उच्च अधिकारीले कान्तिपुरसँग भने, ‘यता काम ठप्प भएको छ, कम लागतमा टेन्डर गरेपछि ठेकेदारले काम गर्न सक्दैन भनेर बहाना निकाल्दै छ ।’ ६ वटै फोहोर प्रशोधन केन्द्रको ठेक्का भइसके पनि गुह्येश्वरीस्थित प्रशोधन केन्द्रको मात्र निर्माण सम्पन्न भइसकेको छ ।

गुह्येश्वरीमा ३ करोड २४ लाख लिटर क्षमता रहेको छ । तर, ललितपुरस्थित कोडकुमा निर्माण हुने प्रशोधन केन्द्रको प्रगति हुन सकेको छैन । गत वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त प्रशोधन केन्द्रको शिलान्यास गरेका थिए । ३ महिनाअघि अनामनगर क्षेत्रमा गरिने भनेको धाराको परिक्षण हुनसकेको छैन । ‘पहिले पानी आउदैन भनेर चिन्ता थियो, अब पानी पाएपछि व्यवस्थापन कसरी गर्ने भन्नेमा चिन्ता छ’ ती अधिकारीले भने । आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख भोजविक्रम थापाले काम भइरहेको दाबी गरे । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो। 

 

मेलम्ची खानपानी

विशेष