विदेश

दिल्ली हिंसा: मृतकको संख्या २० पुग्यो, डेढ सयभन्दा बढी घाइते

दिल्ली हिंसा: मृतकको संख्या २० पुग्यो, डेढ सयभन्दा बढी घाइते

एजेन्सी। भारतको राजधानी दिल्लीमा नागरिकता कानुनको विषयमा जारी दुई पक्षीय झडपमा मृत्यु हुनेको संख्या २० पुगेको छ। बुधबार बिहानसम्म उत्तरपूर्वी दिल्लीमा मृतकको संख्या बढेर २० पुगेको हो भने २ सय ५० भन्दा बढी घाइते भएका छन।

दिल्लीमा हिंसा बढ्दै गएपछि मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्रीय सरकारलाई सेना परिचालन गर्न आग्रह गरेका छन्। उनले ट्विट गर्दै प्रहरीको सक्दो प्रयासबाट पनि शान्ति नभएपछि सेना परिचालन गरी कर्फ्यू जारी गर्नुपर्ने बताए।

साथै यसबारेमा गृहमन्त्री अमित शाहलाई सेना परिचालन गर्न पत्र लेख्ने उनले बताएका छन्। नागरिकता कानुन समर्थक र त्यसको विरोधी पक्षले तरबार, ढुंगा र अन्य हातहतियारको प्रयोग गरेका थिए भने मौजापुर जफ्रावाद र अन्य क्षेत्रका कैयौं घर तथा सवारीसाधन समेत जलाइदिएका छन्।

भारतीय गृहमन्त्री अमित शाहले दिल्ली प्रहरीलाई तत्काल कारबाही अगाडि बढाउन र थप प्रहरी दल परिचालन गर्न आदेश दिएका थिए।हिंसा भड्किएपछि उत्तरपूर्वी दिल्लीको प्रभावित क्षेत्रमा प्रहरीले 'गोली चलाउने' आदेश जारी गरेको थियो। सरकार समर्थकहरूले ‘जय श्रीराम’ को नारा लगाउँदै कानुनको समर्थनमा ओर्लिएपछि दुई पक्षबीच झडप सुरू भएको हो।

 

दिल्ली हिंसा

विशेष