News

प्रधानमन्त्रीका प्रेस सल्लाहकारको पत्रकारलाई खप्की– चिया खानु भो हैन, जानुस्

प्रधानमन्त्रीका प्रेस सल्लाहकारको पत्रकारलाई खप्की– चिया खानु भो हैन, जानुस्

फेरि अर्कोचोटि संसद प्रवेशका नाममा नेकपा उपाध्यक्ष बामदेव गौतमको बदनाम गर्ने खेलो मौलाएको छ । यो त्यही पुराना खेलाडीहरुले चलाएको खेलो हो, जो सिंहदरबारभित्रै बसेर गरिँदैछ । बामदेवलाई राष्ट्रियसभामा लैजाने कुरामा प्रधानमन्त्री केपी ओलीदेखि प्रचण्ड, माधव नेपाल, झलनाथ खनालसहित सबैजसो नेता सहमत भएका हुन् । तर, स्वयं बामदेवले प्रधानमन्त्री बन्ने कुराको सुनिश्चितताबेगर संसदमा मात्रै जानुको केही अर्थ नहुने बताउँदै आउनुभएको थियो । 

नेकपाको पछिल्लो सचिवालय बैठकले प्रधानमन्त्री बनाउने मामिला मात्र हैन, राष्ट्रियसभाको सिट थप्नुपर्ने विषयमा राजपाले उठाइरहेका कुरा र संशोधन गरौं भनेर माधव नेपाल नेतृत्वमा सुवास नेम्बाङ र खिमलाल देवकोटा रहेको कार्यदल बनाउने कुरा गरेकै हो । तर, यस्तो कुरालाई प्रचारमा नलैजाने, भित्री रुपमा त्यो विषयको सम्भाव्यता अध्ययन गर्ने भन्ने सचिवालय बैठकको कुरा थियो । त्यसैको केही समय यी कुरा सार्वजनिक भए । 

बामदेव प्रधानमन्त्री बन्ने कुरामा प्रचण्ड, माधव नेपाल, झलनाथजस्ता प्रधानमन्त्री भइसकेका नेताहरु असहमत छैनन् । किनभने बामदेव प्रधानमन्त्री बन्दा उनीहरुको केही पनि बिग्रदैन ।  तर, प्रधानमन्त्री नबनेको र बन्ने तीब्र चाहना पालेका ईश्वर पोखरेल यो कुराबाट मारमा पर्ने एकमात्र व्यक्ति हुन । पार्टीभित्र जो शक्तिमा आउँदा पनि जारी रह्यो । उनले केपीसंग नजिक हुन आफ्ना लागि माधव नेपाल मरेतुल्य हुन भनेर विश्वासिला पत्रकार मातृका पौडेललाई बोलाएरै अन्तर्वार्ता दिएका थिए । जो अनलाइन खबरमा दुई वर्ष पहिला प्रकाशन भएको छ । र, यसरी पत्रकार बोलाएर आफ्नो तुष्टि मेट्ने काम उनले अहिले पनि छाडेका रहेनछन् । 

अहिले प्रधानमन्त्रीका प्रेस सल्लाहकार रहेका सूर्य थापा खासमा ईश्वरका भित्रिया हुन् । तर उनले पार्टीका अर्का अध्यक्ष प्रचण्ड पूर्वमाओवादीले आफ्नो विरासतका रुपमा गर्व गर्ने जनयुद्धजस्ता विषयमा अशिष्ट टिप्पणी गर्ने, पार्टी एकतालाई विषयको अर्थमा प्रस्तुत गर्नेजस्ता काम गरिदिँदा प्रधानमन्त्री ओली र प्रचण्डबीचको सम्बन्धमा पनि चिसोपना आइरहेको थियो । यही कुरालाई दृष्टिगत गर्दै प्रधानमन्त्रीले केही दिनयता सूर्यलाई धेरै स्पेस नदिने नीति अख्तियार गर्नुभएको छ । त्यसैले आफ्नो जन्मदिन मनाउन तेर्थुम जाँदा प्रमलेस सूर्यलाई जान दिनुभएन । जबकी हेलिकोप्टर चढेर जाने सूचीमा पहिला उसको नाम थियो ।

त्यसपछि बद्नाम नै सही सल्लाहकार विष्णु रिमालका भान्जा पर्ने, कांग्रेस पृष्ठभूमिका मनोज पाण्डे तेर्हथुम लगिए । यता तेर्हथुम जान नपाएको रिस अर्कातिर बामदेव शक्तिमा आउँदा आफू  सोत्तर हुनुपर्ने, ईश्वरलाई पनि घाटा पर्ने पीरले सताएपछि पार्टी गोपनीयता खोल्ने काम शुरु भयो, सिंहदरबारस्थित प्रधानमन्त्री सचिवालयभित्रैबाट । सूर्यले आइतबार दिउँसो शुरुमा कान्तिपुरकी विनु सुवेदीलाई बोलाएर कुरा चुहाए । तर, त्यसपछि अरु पत्रकारलाई पनि उनले पालैपालो बोलाएका थिए, त्यही कुरा भन्नलाई । 

एउटै विषय तपाईंलाई मात्र भनेको भन्ने गरी पत्रकारहरु बोलाइँदा एउटाले अर्को भेटन नपाओस् भन्ने उनको योजना थियो । तर विनुले चिया पिउँदा पिउँदै अर्का पत्रकार मुन्तिर आइपुगेको देखेपछि सूर्यले बिनुलाई पिउँदै गरेको चिया नसकिँदै ‘लु तपाईं यहाँबाट गइहाल्नुस् , यहाँ अर्कै मिटिङ गर्ने बेला भयो ।’ भनेर धकेलेरै कार्यकक्षबाट निकाले । बिनु त्यहाँबाट सर्भिस सेन्टरमा चिया पिउन पुगिन । त्यहाँ नेपाल टेलिभिजनकी निमा काफ्ले र भूमिसुधार मन्त्रीको सचिवालयमा समेत रहेका पत्रकार राजेश शर्माहरु थिए । बिनुले भनिन– ‘सूर्य दाइले मलाई पिउँदा पिउँदैको चिया नसकिँदै कोठाबाट निकालेर क्या दुव्र्यवहार गर्यो यार ।’ बिनुले यसो भन्दाभन्दै अनलाइनखबरका मात्रिका पौडेल त्यहाँ पुगे । 

‘सूर्य थापालाई भेट्नुपर्ने कुरा चाहिँ के थियो ?’ मात्रिकाले बिनुलाई सोधे । बिनुले सूर्यले भनेको कुरा सुनाइन र समाचार कान्तिपुरबाट ब्रेक भएलगत्तै अनलाइन खबरमा पनि आयो । बिनुलाई निकाल्नुको कारण थियो, सेतोपाटीका सञ्जीब बगाले, अक्षर काकाहरुलाई पनि त्यही सूचना चुहाउन बोलाएका थिए । सेतोपाटीका अमित ढकाल र सञ्जीव बगालेलाई त ईश्वर पोखरेलसंगै कुरा गराए । त्यही कुराकानीका आधारमा ‘केपी ओलीविरुद्ध कू’ शीर्षकमा विश्लेषण नै आयो । यसपछि आफ्नै काम लिएर प्रेस संगठन सम्बद्ध जनकपुरका पत्रकार शितल साह, सल्यानका जीवन बिसीहरु सूर्यलाई भेटन पुगे । उनीहरुले सोधे– ‘गोप्य निर्णय रहेछ किन बाहिर ल्याइयो त ?’ सूर्यले जवाफ दिए– ‘जनमतको परीक्षण होस् भनेर होला ।’

देखापढी डटकमका सम्पादक रामेश्वर बोहरालाई पनि सूर्यले भन्न भ्याइसकेका थिए । उनले चाहिँ पुष्टि गर्न पहिला माधव नेपाल निकट विष्णु रिजाललाई सोधे, उनले होइन भने । त्यसपछि झलनाथ खनाललाई फोन गरे । ‘नभन्ने भनेको थियो तर तपाईंले त थाहा पाइसक्नु भएछ ।’ झलनाथले यसो भनेपछि कार्यदल बनेको हो कि होइन भनेर सोधिरहनु परेन । अनि रामेश्वरले समाचार बनाए । 

यो दृश्यमा प्रकट भएका पत्रकार मध्ये अमित ढकालबाहेक सबै पूर्वएमाले निकटका हुन । यस्तो भएपछि कसले लगायो ? कसरी लगायो ? जस्ता कुरा नेताका कानमा नपुग्ने कुरै भएन । कुरा उठेपछि ईश्वरले ट्वीट गरेरै आफ्ना कुरा आफैंले राखे । लेखे– ‘अभ्यास, अनुभव र औचित्यका आधारमा मात्र संविधान संशोधन हुन सक्ने कुरा गर्दै आएका भित्रैबाट यतिबेला एकाएक संविधान संशोधनको कुरा सुनिदैछ । मानिसहरु उदेक मान्दैछन् । के का लागि संविधान संशोधन ? खबरदारी बहस गर्ने बेला आएजस्तो छ । कुरा लुकाएर, ढाँटछल गरेर कति दिन चल्छ ? कसरी चल्छ ? राजनीति गरिन्छ । जुवा खेलिन्न ।’

आइतबार नै प्रचण्डले खिमलाललाई ‘तपाईं कार्यदलमा हुनुहुन्छ, भोलि विहान आउनुस है’ भन्नुभएको थियो । कारण हो, बामदेवको उपाध्यक्ष पदलाई विधानमा मिलाउने काम बाँकी थियो । त्यसका लागि महासचिव विष्णु पौडेलले खिमलाललाई जिम्मा लगाउनु भएको थियो ।यो काम आइतबार नै टुंगिएर विधान छपाइका लागि प्रेसमा पठाइएको छ । 

जनआस्था साप्ताहिक लेख्छ । 

बामदेव गौतम सूर्य थापा

विशेष