News

राष्ट्रपति भण्डारी सुदूरपश्चिम भ्रमणमा, ४ स्थानीय तहमा सार्वजनिक बिदा

राष्ट्रपति भण्डारी सुदूरपश्चिम भ्रमणमा, ४ स्थानीय तहमा सार्वजनिक बिदा

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमणका लागि बैतडी र दार्चुलाका चार वटा स्थानीय तहमा आज बिदा दिइएको छ । पूजाआजा र भवन उद्घाटनका लागि राष्ट्रपति आउने भएपछि बैतडीको पाटन र दशरथचन्द नगरपालिका तथा दार्चुलाको शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले स्थानीय बिदा दिएका हुन् । पालिकाले विद्यार्थी, शिक्षक र कर्मचारीलाई राष्ट्रपतिको स्वागतमा अनिवार्यरुपमा उपस्थित हुन निर्देशन दिएको छ ।

राष्ट्रपति भण्डारीले बिहीबार पाट नगरपालिकामा भीमदत्त पोलिटेक्निक इन्स्टिच्युटको भवन र छात्रावास उद्घाटन, दशरथचन्द नगरपालिकाको त्रिपुरासुन्दरी मन्दिरमा पूजा गर्ने कार्यक्रम छ । पाटन र दशरथचन्द दुवै नगरपालिकाले राष्ट्रपति भण्डारीलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम पनि राखेका छन् ।

राष्ट्रपति भण्डारी शुक्रबार बिहान १० बजे डडेलधुराको उग्रतारा मन्दिरको दर्शन गरी १ बजे कञ्चनपुरमा हुने शुक्लाफाँटा महोत्सवमा सहभागी हुने कार्यक्रम रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

भण्डारी आउँदो शनिबार काठमाडौं फर्किने कार्यक्रम छ । राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री विभिन्न ठाउँमा जाँदा बिदा दिने कामको चौतर्फी विरोध हुने गरे पनि यस्तो काम रोकिएको छैन । राष्ट्रप्रमुख वा सरकारप्रमुख भ्रमणमा जाँदा बिदा दिइनु, स्वागतका लागि विद्यार्थीलाई घण्टौँ टाढासम्म लैजानु र लाइन लगाइनु, गलत भएको र यसले पञ्चायतकालीन झल्को दिएको भन्दै विरोध हुने गरेको छ ।

विद्यादेवी भण्डारी सुदूरपश्चिम सार्वजनिक बिदा

विशेष