एसिड प्रहार गर्नेलाई ८ बर्षको कैद

हेटौंडा। जिल्ला अदालत मकवानपुरले हेटौँडाकी विन्दवासिनी कंशकारमाथि एसिड (तेजाब) प्रहार गर्ने भारतीय नागरिक दिलीपराज केशरीलाई आठ वर्ष कैद र एक लाख रुपैयाँ जरिबाना गर्ने फैसला गरेको छ ।
साथै पीडित कंशाकारको उपचारमा खर्च भएको एक करोड १४ लाख ८५ रुपैयाँ समेत पीडकबाट भराउन तथा पीडकबाट सम्भव नभए राज्यको कोषबाट भए पनि उपलब्ध गराउन अदालतले आदेश दिएकोे छ । जिल्ला न्यायाधीश कमलराज विष्टको इजलासले बिहीबार आदेश दिएको अदालतले जानकारी दिएको छ ।
अदालतले कंशाकारमाथि एसिड प्रहार गर्ने केशरीलाई भगाउन सहयोगी भूमिका निर्वाह गरेको भन्दै हेटौँडाका सञ्जय मण्डललाई दुई वर्ष ६ महिना कैद सजायसहित ४० हजार रुपैयाँ जरिबाना गर्ने निर्णय गरेको जनाइएको छ ।
विवाहको प्रस्ताव अस्वीकार गरेको भन्दै केशरीले कंशाकारमाथि विसं २०७० वैशाख ९ गते पसलमा बसिरहेको समयमा एसिड प्रहार गरेका थिए ।
एसिड प्रहार कैद