News

तरकारी लगाउने बारी नभएर के भयो, कौसी त छ नि!

तरकारी लगाउने बारी नभएर के भयो, कौसी त छ नि!

दमौलीः तरकारी लगाउने खेतबारी नभएको बहानामा बजारबाट तरकारी किनेर खानेको संख्या हिजो आज बढ्दो छ । तर तनहुँको व्यास नपा–२ दमौली बजारकी कल्पना गौलीले खेतबारी नभए पनि कौसीमा लगाएर प्रसस्त तरकारी उत्पादन गर्न सकिन्छ भन्ने पुष्टि गरेकी छन् । 

दमौली बजारको मुटु, दमौलीको सबैभन्दा बढि व्यापार हुने मार्ग भनेर चिनिने कालिका मार्गमा करिब एक आनाको क्षेत्रफलमा बनेको आरसिसि घरको कौसीमा गौलीले करिब एक दर्जन थरीका तरकारी र जडुबुटी लगाएकी छन् । पाँच ढलानको उनको घरको कौसीमा मात्र हैन, हरेक तलाको बरन्डामा समेत गमलामा तरकारी लटरम्म फलेको देख्न पाईन्छ ।

एक आनाको जग्गामा बनेको घरमा भ(याङ लगायतको भाग छोड्दा जम्माजम्मी आधा आना भन्दा केही बढि ठाउँ बाँकी रहेको छ । त्यसमा पनि पानी जम्मा गर्ने दुई वटा ठूलाठूला ट्यांकी त्यसभित्रै ओकटेका छन् । त्यो बाँकी रहेको ठाउँमा उनले सिमेन्टको गाह्रो उठाएर त्यसमा माटो भरेर तरकारी लगाएकी छन् । त्यसैगरि बाँकी रहेको ठाउँमा गमला, ड्रम, प्लाष्टिकको बाल्टीमा सिजन अनुसारको तरकारी लगाएकी छन् । 

अहिलेको सिजनमा उनको कौसीमा काउली, ब्रोकाउली, कुरीलो, बोडी, साग, धनीया, मेथी, सुप, चम्सुर, सिमि, मुला, स्थानीय जातको गोलभेडा, प्याज र लसुन प्रसस्त देख्न पाईन्छ । त्यसैगरि अर्को सिजनमा लहरेबाली तरकारी घिराम्लो, चिचिन्डा, काक्रो, बोडी, लौका, फर्सी र पिडालु समेत लगाउने योजना रहेको उनको भनाई छ ।

त्यसैगरि जडुबुटी तर्फ घोडटाप्रे, तितेपाती, सिस्नो, कालो हलेदो, पतीना, घ्युकुमारी पनि लगाएको उहाँले जानकारी दिनु भयो । ति सबै तरकारी र जडिबुटी पुर्ण अर्गानिक भएको उनले दावी गरिन् । त्यतीमात्र नभएर सात रङको फुल्ने बेगन बेली फूल पनि उनको कौसीमा देख्न पाइन्छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ तनहुँ शाखाको महिला उद्यमी समितिको अध्यक्ष र माँ दुुर्गा नामक धार्मिक संस्थाको संस्थापक अध्यक्ष रहेकी गौली सामाजिक कामबाट बचेको समयको व्यवस्थापन र तरकारीमा आत्मनिर्भर बन्ने उद्देश्यले नै कौसी खेती गरेको बताउँछिन्। कौसीमा उत्पादित सबै तरकारी घरमा नै उपभोग गर्ने र कहिलेकाँही काठमाडौंमा बस्ने आमा वुवाकहाँ कोशेली पठाउने गरेको उनले बताइन् । 

छिमेकीहरुले कहिले काँही तरकारी बेच्न सुझाव दिए पनि विक्री गर्ने प्रयोजन नभएको उनले बताइन् । बरु कहिलेकाँही धेरै उत्पादन भयो भने छिमेकी र साथी भाईलाई उपहार पठाउने गरेको उनको भनाई छ । गोरखापत्र अनलाइनबाट 

कौसी कौसी तरकारी कल्पना गौली

विशेष