मोवाइलको विषयमा विवाद हुँदा हत्या!
धनुषा – धनुषामा मोवाइलको विषयमा विवाद हुँदा एक महिलाको हत्या भएको छ ।
धनुषाको औरही गाउँपालिका वडा नं. २ बस्ने स्थानीय अनिल कुमारकी २८ वर्षीया श्रीमतिलाई घरका सदस्यहरुले मिलेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीले सोमबार दिउँसो पत्रकार सम्मेलन गर्दै महिलालाई माेबाइलकै लागि हत्या गरिएको खुलाएको हो ।
श्रीमति चिन्तामणि र उनकी नन्द पुनिता पासवानबीच मोवाइलको विषयमा विवाद हुँदा झगडा भएको थियो । सोही विषयमा श्रीमान अनिलकुमार, नन्द पुनिता, सासू-ससुरा मिलेर उनको हत्या गरेको प्रहरीको भनाइ छ।
चिन्तामणिको घाँटी थिचेर हत्या गरेको देखिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घाँटी थिचेर हत्या गरी अपराध लुकाउन मृतक झुण्डिएको हो भन्दै उनीहरुले हल्ला फैलाएर अटोरिक्सामा राखी प्रादेशिक अस्पताल पुर्याएको पाइएको डीएसपी रामेश्वर कार्कीले जानकारी दिए ।
उपचार गराउन आउँदा घटना शंकास्पद देखिएपछि उनका परिवारका सदस्यहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा मृतक चिन्तामणिका श्रीमान ३० वर्षीय अनिलकुमार पासवान, ससुरा ५५ वर्षीय राधाकृष्ण पासवान, ४५ वर्षीया सासू कुमला पासवान र २० वर्षीया नन्द पुनिता पासवान छन् ।