News

५० बेडसम्मको ‘आइसोलेसन वार्ड’ बनाउने जिम्मा सेनालाई, गैरसैनिकलाई पहिलोपटक क्वारेन्टाइनमा राखिँदै

५० बेडसम्मको ‘आइसोलेसन वार्ड’ बनाउने जिम्मा सेनालाई, गैरसैनिकलाई पहिलोपटक क्वारेन्टाइनमा राखिँदै

काठमाडौंः सरकारले चीनको हुबेई प्रान्तका ६ सहरमा रहेका नेपालीलाई स्वदेश ल्याइएपछि अलग्गै (क्वारेन्टाइन) राख्न सुरक्षित स्थानको खोजी थालेको छ । स्वदेश फर्काइएका नेपालीलाई १४ दिन क्वारेन्टाइनमा राखिनेछ । स्वास्थ्य मन्त्रालयको समन्वयमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले ठाउँ खोजिरहेका छन् । सेनालाई ५० बेडसम्मको आइसोलेसन वार्ड बनाउन जिम्मा दिने सरकारको तयारी छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. दीपेन्द्ररमण सिंहको नेतृत्वमा आइतबार सबै सुरक्षा निकायका चिकित्सकहरूको टोलीले वैकल्पिक स्थानको अवलोकन गरेको थियो । सुरक्षा निकायका तालिम केन्द्र तथा अस्पतालमा एक सय ८० जना राख्ने क्षमता नभएपछि बेग्लै थप आइसोलेसन वार्ड बनाउने जिम्मा सेनालाई दिन लागिएको हो । स्वास्थ्य मन्त्रालयको समन्वयमा भएको बैठकमा सेनालाई यसको विस्तृत योजना सोमबार पेस गर्न भनिएको छ । ‘सैनिक स्वास्थ्य महानिर्देशनालयले सोमबारको बैठकमा ५० बेडसम्मको आइसोलेसन वार्ड बनाउने विस्तृत योजना पेस गर्दै छ,’ सैनिक प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले भने, ‘अहिले हामीसँग उपलब्ध स्थान पर्याप्त छैनन् भन्ने जानकारी सम्बद्ध निकायमा गराइसकेका छौँ । सोमबार सम्भवतः यसबारे निष्कर्षमा पुगिएला ।’

आइतबार प्रधानसेनापति पूर्णचन्द्र थापा, सैनिक स्वास्थ्य महानिर्देशनालयका प्रमुख उपरथी डा. सुनीलकुमार सिंह, मुख्यसचिव लोकदर्शन रेग्मीसहित सरोकारवालाबीच यसबारे छलफल भएको थियो । डा. सिंहले सोमबार नयाँ आइसोलेसन वार्ड बनाउने विषयमा विस्तृत प्रस्तुतीकरण गरेपछि मन्त्रिपरिषद्बाट निर्णय गराउने सरकारी तयारी छ । सैनिक प्रवक्ता पाण्डेले भने, ‘सरकारले निर्णय गरेर जिम्मेवारी दिएपछि हामी यथाशीघ्र आइसोलेसन वार्ड निर्माण गर्नेछौँ ।’ सेनाले आइसोलेसन वार्ड बनाउन आवश्यक मेडिकल सामग्री, बजेट र समयका विषयमा विस्तृत प्रस्ताव पेस गर्नेछ । 

ठाउँ खोज्दै सुरक्षा निकाय 

सरकारी निकायहरूले चीनबाट फर्काइने नेपालीलाई बेग्लाबेग्लै समूह बनाएर सेनाको वीरेन्द्र सैनिक अस्पताल छाउनी, शिवपुरीस्थित कमान्ड एन्ड स्टाफ कलेज, पाँचखालस्थित तालिम केन्द्र, सशस्त्र प्रहरीको मातातीर्थ वा ककनीस्थित तालिम केन्द्र, इचंगुनारायणस्थित सुकुमबासीका लागि बनाइएका दुई सरकारी भवनमा राख्न सकिने विकल्पबारे छलफल गरिरहेका छन् । सेनाले २९ असोज र १२ कात्तिक ०७१ मा कंगोमा इबोलाको महामारी फैलिएपछि फिर्ता भएका १५ सैनिकलाई २१ दिनसम्म शिवपुरीस्थित स्टाफ कलेजमा राखेको थियो । छाउनीस्थित सैनिक अस्पताल र पाँचखालस्थित तालिम केन्द्रमा पनि सेनासँग आइसोलेसन वार्ड छ । पाण्डेले भने, ‘हामी सम्भावित ठाउँहरू हेरिरहेका छौँ । सोमबारसम्म यकिन होला ।’ 

पहिलोपटक गैरसैनिकलाई क्वारेन्टाइनमा राखिँदै

स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठका अनुसार नेपालमा गैरसैनिकलाई पहिलोपटक क्वारेन्टाइनमा राख्न लागिएको छ । उनीहरूको उपचारसहितको तयारी चुस्त बनाइएको छ । श्रेष्ठका अनुसार उद्धार गरेर ल्याएका सबैलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण गरिनेछ । स्वास्थ्यमा समस्या नदेखिएकालाई क्वारेन्टाइनमा १४ दिन राखिनेछ । नेपाल आइपुग्दा अस्वस्थ देखिएकालाई टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताललगायत राजधानीका पाँच अस्पतालका आइसोलेसन वार्डमा भर्ना गर्ने तयारी गरिएको अस्पतालका चिकित्सक डा। अनुप बास्तोलाले जानकारी दिए । उनलाई सरकारले कोरोना भाइरसका बिरामीको उपचार गर्ने जिम्मेवारी तोकेको छ । उनको नेतृत्वमा २० जना स्वास्थ्यकर्मी खटिएका छन् । हालसम्म चीनबाट फर्किएका ६० जना नेपाली स्वास्थ्य जाँच गराउन टेकु अस्पताल पुगेका छन् । तर, उनीहरूलाई कुनै पनि लक्षण नदेखिएको डा। बास्तोलाले बताए ।

व्यवसायीलाई सरकारले भन्योः मास्क निर्यात नगर्नुस् 

औषधि व्यवस्था विभागले मास्क, ग्लोब्स र ह्यान्ड सेनिटाइजर निर्यात नगर्न व्यवसायीलाई आग्रह गरेको छ । चीनबाट आएका सर्जिकल मास्क, एन९५ मास्क र ‘थ्री–एम ८२०१’ मास्क उतै फिर्ता भएपछि सरकारले नेपालमा देखिन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्न व्यवसायीलाई आग्रह गरेको हो । 

विभागका महानिर्देशक नारायणप्रसाद ढकालले चीनसहित विभिन्न मुलुकमा नयाँ कोरोना भाइरसको संक्रमण बढिरहेका वेला नेपाली बजारबाट मास्क, ग्लोब्स र ह्यान्ड सेनिटाइजर निर्यात नगर्न आग्रह गरेको बताए । विभागले ती वस्तुहरूको मौज्दात कायम राख्न, मूल्य नबढाउन तथा देशभर उपलब्ध गराउनसमेत सप्लायर्ससँग आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले मास्क लुकाएर महँगोमा बेच्नेमाथि अनुगमन गरी कारबाही गर्ने निर्णयसमेत गरेको छ । 

बजारमा ‘एन ९५’ मास्क पहिला किन्नै आउँदैनथे, अहिले कोरोना भाइरस फैलिएपछि एन९५ मास्क खोज्ने बढेका छन्,’ मेड सेवा हेल्थ केयरका सञ्चालक वसन्त श्रेष्ठले भने, ‘पुराना मौज्दात सबै सकिएको छ ।’ ‘थ्री–एम ८२०१’ मास्क पनि बजारमा अभाव छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो । 

नेपाली सेना क्वारेन्टाइन आइसोलेसन वार्ड

विशेष