बाबुरामले भेटे महरा र रेशम चौधरी
काठमाडाैँ – समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई कारागार पुगेका छन् ।
उनले त्यहाँ यौन दुर्व्यवहारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व सभामुख कृष्णबहादुर महरालाई भेट् गरेका छन्। सोमवार अपराह्न भट्टराई डिल्लीबजारस्थित कारागारमा पुगेर महरासँग करिब १ घण्टा कुराकानी गरेका हुन् ।
अपराह्न ३ बजेतिर महरालाई भेट्न डाक्टर भट्टराई पुगेका थिए । डाक्टर भट्टराईले महरासँगै रेशम चौधरीलाई पनि भेट गरेको स्रोतले जानकारी दियो ।'३ बजेतिर उनी कारागार छिरेका थिए,' स्रोतले भन्यो, 'महरालाई भेटेपछि रेशम चौधरी पनि त्यहीं भएकाले केही समय भेट भयो । एक घण्टापछि फर्के ।'
गत असोजको दोस्रो साता महरालाई प्रहरीले यौन दुर्व्यवहारको आरोपमा पक्राउ गरेको थियो । महरा कारागार चलान भएपछि उनलाई भेट्न जाने उच्च तहका राजनीतिज्ञमध्ये भट्टराई पहिलो हुन् । चौधरी भने टीकापुर हत्याकाण्डका अभियुक्तका रूपमा लामो समयदेखि कारागारमा छन् ।