उपत्यकाका १८ पेट्रोल पम्प हटाइने
काठमाडौँ। उपत्यकाको सडक सुधार तथा ट्राफिक व्यवस्थापन कार्यक्रम अन्तर्गत सडक छेउका १८ वटा पेट्रोल पम्प हटाइने भएकाे छ । काठमाण्डौका १२ र ललितपुरका ६ वटा पेटोल पम्प हटाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नेपाल आयल निगम र ट्राफिक प्रहरी महाशाखालाई पत्राचार गरेको हो ।
सडक छेउका र सडकको घुम्तीमा रहेका पेट्रोल पम्पको व्यवस्थापन गर्न पत्राचार गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । नेपाल आयल निगमका निर्देशक तथा प्रवक्ता वीरेन्द्र गोइतले काठमाण्डौ उपत्यकाको बढी मात्रामा गाडी आवागमन हुने सडक छेउ र सडक घुम्तीमा रहेका पेट्रोल पम्प हटाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट निगमलाई पत्र प्राप्त भएको बताए ।
गोइतकाअनुसार कोत थुकु पेट्रोल पम्प बालाजु, जयन्ती पेट्रोल पम्प, थापाथली, कनक पेट्रोल पम्प कालीमाटी, मायाराम भोलाराम पेट्रोल पम्प थापाथली, त्यस्तै कलँकीका बाबा, श्यामा र त्रिशूल पेट्रोलपम्प हटाइने छ । यस्तै कोटेश्वरका भ्याली रिकेश र कामाख्या पेट्रोल पम्प, बौद्धका जुबी र बराल पेट्रोल पम्प र महाराजगञ्जको सीता पेट्रोल पम्प पनि हटाइनेछ ।
यस्तै चापागाउँमा रहेका बज्रबराही, बालकुमारी र टीकाभैरव पेट्रोलपम्प, जावलाखेलका साझा पेट्रोल पम्प, एच पी इन्टरनेसनल र गायत्री पेट्रोल पम्प हटाइने निगमले जनाएको छ । निगमका निर्देशक तथा प्रवक्ता गोइतले पेट्रोल पम्पलाई पम्प हटाउन वा सार्न प्रक्रिया सुरु गर्न १५ दिनको समयावधि दिइएको पनि बताए।
पेट्रोल पम्प