News

होसियार हुनुहाेस्, कार लिएर आउने चोर घर भित्र घुस्ला नि!

होसियार हुनुहाेस्, कार लिएर आउने चोर घर भित्र घुस्ला नि!

काठमाडौंः तपाइको घर नजिकै कार लिएर दुईदिनसम्म कसैले निगरानी गरेको देख्नु भयो भने तपाइ सर्तक हुनुपर्ने बेला आएको छ । प्रहरीले दिउँसोमात्रै कार लिएर आएर चोरी गर्ने गिरोहलाई पक्राउ गरेर सार्वजनिक गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा टेकूले कारमा चढेर दिउँसो १२ बजेदेखि २ बजेसम्म चोरी गर्ने गिरोहलाई नियन्त्रणमा लिएको छ । केही दिनसम्म निरन्तर घरको अवस्था बुझेर दिउँसो १२ बजेदेखि दुई बजेको बिचमा चोरी कार्यमा पूर्व भगौडा प्रहरीको समूहको संग्लनता देखिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी सहकुलबहादुर थापाले जानकारी दिए । 

नेपाल प्रहरीकै भगौडा हवल्दारले समूह नै बनाएर चोरीमा सक्रिय रहेको पाइएको अनुशन्धानबाट खुलेको एसएसपी थापाले गोरखापत्र अनलाइनलाई बताए । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुले प्रहरीकै पूर्वहवल्दार दोलखा जिल्ला स्थायी घर भएका ३० वर्षीय रवि कार्कीलाई चोरी आरोपमा पक्राउ गरेसँगै विभिन्न तथ्य सार्वजनिक भएको हो । प्रहरीले पूर्व भगौडा पूर्वहवल्दारले ग्याङनै बनाएर चोरी कार्यमा संम्लग्न रहँदै आएको तथ्य बाहिर आएको हो । महाशाखाका प्रमुख एसएसपी थापा भन्छन्, ‘कार्कीसहित भंगालका १९ वर्षीय राजन खनाल र काभ्रेका २० वर्षीय उपेन्द्र खरेल मिलेर चोरीको ग्याङ नै चलाइरहेका थिए ।’

यो समूहले दिउँसोनै कार लिएर चोरी गर्न हिँड्ने गरेको पाइएको एसएसपी थापाले बताए । चोरको समूहले अन्तिम पटक काठमाडौंको भत्केको पु्लमा डेरा गरेर बस्ने विष्णु कार्कीको कोठामा चोरी गरेका थिए । पौषको २८ गते कार्कीको कोठावाट गिरोहले दुई लाख नगद, २० तोला सुनको गहना र सामसुङ कम्पनीको मोवाइल चोरेका थिए । उनीहरुले चोरेको सुन गोकर्णेश्वर–५ मा रहेको निश्चल सुनचाँदी पसलमा गहना बिक्री गरेका थिए । चोरीको माल सस्तोमा किन्ने पसल संचालक खोटाङको रुपाकोट–१२, जालपा घर भइ गोकर्णेश्वर बस्ने ४३ वर्षीय मौलबहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले कार्कीसँग एक लाख २५ हजार नगद र उनीहरुको चोरी कार्यमा प्रयोग गर्ने बा३च ६२७६ नंम्बरको कार समेत बरामत गरेको छ । पक्राउ परेकाहरुले यसअघि २०७५ सालमा समेत घरमा चोरी गरिरहेको समयमा रड सहित फेला पारेको थियो ।

पुराना चोरहरुको रेकर्ड तथा सिसी टिभी फुटेजको आधारमा दिउँसै चोर्ने गिरोहलाई फलो गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको एसएसपी थापाले बताए । पक्राउ परेकाहरुसँग बरामत गरिएको सामाग्री बिष्णुबहादुर कार्कीको डेराबाट चोरेको पाइएको एसएसपी थापाले बताए । यो समाचार गोरखापत्र दैनिकबाट लिइएको हो । 

कार चाेरी होसियार भगौडा हवल्दार

विशेष