News

नगरकोटमा पर्यटक आकर्षित गर्न थप पहल

नगरकोटमा पर्यटक आकर्षित गर्न थप पहल

नगरकोटः काठमाडौं उपत्यका नजिकको पर्यटकीय गन्तव्य नगरकोटमा नेपाल भ्रमण वर्षमा आउने पर्यटकलाई थप आकर्षण गर्न पहल सुरु भएको छ । भक्तपुरबाट नगरकोट जाने सडक ठेकेदारको लापरबाहीले समयमै नबन्दा समस्या भए पनि स्थानीयवासीले आफ्नो प्रयास कायमै राखेका छन् । नगरकोटको भौतिक पूर्वाधार विकासका लागि चाँगुनारायण नगरपालिका र मण्डनदेउपुर नगरपालिकाले विभिन्न योजना अगाडि सारेका छन् ।

ती दुई नगरपालिकाको साँधबाट नगरकोट प्रवेश गर्ने पर्यटकका लागि प्रवेश शुल्क उठाइन्छ । चाँगुनारायण नगरपालिका प्रमुख सोम मिश्रले पर्यटकको सुविधाका लागि भट्टेडाँडामा ५५ करोड रुपियाँको लागतमा बसपार्क निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनिसकेको बताए । उनले चाँगुनारायणदेखि नगरकोटसम्म धार्मिक पर्यटन पदमार्गको पनि निर्माण सकिन लागेको र छिट्टै उद्घाटन हुने बताए । 

त्यसैगरी मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइबाले नगरकोटको पर्यटकीय भूभाग यस नगरपालिकाभित्रै पर्छ । यताबाट नगरकोट प्रवेश गर्ने पर्यटकका लागि यही नगरपालिकाले शुल्क उठाउँदै आएको छ । उठेको शुल्कमा अन्य बजेट थपेर नगरकोटलाई पर्यटकीय हब बनाउन हरसम्भव प्रयास गरिने उनले बताए । 

उनले नगरकोटको होटल क्षेत्रको सात सय मिटर बाटो ग्राबेल गरी सोलार बत्तीको व्यवस्थापन, बसपार्क, पिकनिक स्पट निर्माणका लागि नगरपालिकाले ५० लाख रुपियाँ छुट्याइसकेको बताए । ‘भ्यु टावर पनि यहाँको आवश्यकता हो । पर्यटक सूर्य उदाउँदा र अस्ताउँदाको दृश्य हेर्न चाहन्छन् । नगरकोटको मुख्य आकर्षक पक्ष नै यही हो । यसको पनि तयारी हुँदै छ”, अध्यक्ष वाइबाले भने । नगरकोटको पर्यटन प्रवद्र्धनका लागि नगरपालिकाले गुरुयोजना बनाउने जानकारी उनले दिए । 

नेपाल मण्डल पर्यटन नगरीका संयोजक इन्द्र लामाले नगरकोटको पर्यटन प्रवद्र्धन गर्न स्थानीयवासीकै पहल र लगानीबाट अगाडि बढ्ने बताए । 

लामाले स्थानीय संस्कार, संस्कृतिको प्रवद्र्धन गरेर नगरकोटमा बढीभन्दा बढी पर्यटक भित्र्याउने पहल भइरहेको जानकारी दिए । स्थानीय निकाय, कलाकार, स्रष्टाहरूसँगको सहकार्यमा पर्यटकलाई आकर्षण गर्ने काम हुँदै आएको उनले बताए । काठमाडौँबाट ३२ किलोमिटरको दूरीमा रहेको नगरकोटबाट गणेश, लाङ्टाङ, गौरीशङ्कर, सगरमाथालगायत ११ वटा हिमशृङ्खला हेर्न सकिन्छ । नगरकोटवरिपरि सामुदायिक वनका रूपमा जङ्गल संरक्षण गरिएको छ । त्यसैगरी नगरकोटको पर्यटन प्रवद्र्धनको उद्देश्यले स्थानीय व्यवसायी, पर्यटन अभियन्ताहरूको साझा संस्था नगरकोट नाल्दुम पर्यटन विकास समितिले भ्रमण वर्षको सन्दर्भलाई जोडेर पर्यटकीय गन्तव्य नगरकोटको बतासे डाँडामा हालै दोस्रो नगरकोट महोत्सव आयोजना गरेको समितिका अध्यक्ष नवीन गुरुङले बताए । –गोरखापत्र दैनिकबाट 

नगरकोट पर्यटक

विशेष