News

गौतमबुद्ध विमानस्थल निर्माण गर्न ३ महिनाको म्याद थप

गौतमबुद्ध विमानस्थल निर्माण गर्न ३ महिनाको म्याद थप

रुपन्देही। बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ठेकेदार पक्षलाई निर्माण कार्य पूरा गर्न तीन महिनाको समयावधि थप गरिएको छ ।

विमानस्थल निर्माणको ठेक्का पाएको नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुपले २०७६ पुस २२ गतेभित्र काम सम्पन्न गर्नेगरी थप समयसहित ठेक्का पाएको थियो । ठेकेदार पक्षले तोकिएको समयमा ८६ प्रतिशत मात्रै भौतिक काम सम्पन्न गरेको देखिएको छ । ठेकेदार पक्षले अझै तीन महिना म्याद थपको माग गरेअनुसार एशियाली विकास बैंक (एडिबी) को सहमतिमा प्राधिकरण सञ्चालक समितिले समय थप गरेको आयोजनाले जनाएको छ ।

आगामी चैत १८ गतेसम्म म्याद थप भएको छ । आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार अब चार प्रतिशत सिभिलको काम र १० प्रतिशत विद्युतीय तथा उपकरणसम्बन्धी काम बाँकी छ । उहाँका अनुसार आइसिपी–१ को टर्मिनल भवनको फिनिसिङ र उपकरण जडान बाहेक अन्य काम सम्पन्न भइसकेको छ । विमानस्थल निर्माणका क्रममा बारम्बार समायवधि थपिँदा भेरिएसनसमेत बढेर गएको छ । अहिले नौ दशमलव ६२ प्रतिशत भेरिएसन भई छ अर्ब ८२ करोड २६ लाख १८ हजार रुपैयाँ हुन पुगेको छ ।।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

विशेष