कोरोना भाइरसले पर्यटक घटेपछि होटल संघ विकल्प खोज्दै
काठमाडाैँ – पछिल्लो समय चीनबाट फैलिएको कोरोना भाइरसका कारण नेपालको पर्यटन वर्ष २०२० प्रभावित भएको छ। नेपाल होटल संघले कोरोना भाइरसको संक्रमणका कारण नेपालको दोस्रो ठूलो पर्यटन बजार चीनबाट पर्यटक आगमन घटेको जनाएको छ। संघले त्यसको विकल्पमा अन्य पर्यटन बजारबाट पर्यटक भित्र्याउन तिब्र प्रयास गरिरहेको छ।
मंगलबार पत्रकार सम्मेलन गरी होटल संघले भारत, बंगलादेश, मध्यपूर्ण,। दक्षिण पूर्वी एसियालगायतका गन्तव्यबाट पर्यटक भित्र्याउन प्रयास गर्ने बताएको छ । ‘तत्कालै अन्य पर्यटन स्रोत बजारका बारेमा पनि नेपाल सरकार, हवाई कम्पनीलगायत सबै सरोकारवालाहरुसँग छलफल गरी विशेष पर्यटन प्याकेजको तयारी गर्दैछौं’ संघले भनेको छ ।
संघले सबै होटलहरुलाई कुनै पनि राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पाहुनामा कोरोना भाइरसको पूर्वसावधानी अपनाउन र संकेत देख्ने वित्तिकै अस्पताल लैजान परिपत्र गरिसकेको बताएको छ । कोरोना भाइरसबाट नेपाल अहिलेसम्म सुरक्षित रहेको सन्देश अन्तर्राष्ट्रिय जगतमा उपयुक्त ढंगबाट सम्प्रेषण हुन नसक्दा बुकिङ रद्द हुने सम्भावना भने रहेको संघले जनाएको छ । त्यसैले यसतर्फ सबैले सतर्कता अपनाउनुपर्ने होटल संघले बताएको छ ।