मौसम: आज राति वर्षा र हिमपातको सम्भावना
काठमाडौंः आज राति देशका पहाडी भेगका केही स्थानमा वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना देखिएको मौसमविदले बताएका छन् । आज राति पश्चिम, मध्य र पूर्व तीनै क्षेत्रका पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना देखिएको महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् ।
यस्तै तीनै क्षेत्रका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हिमपातको पनि सम्भावना छ । तर यो सम्भावना पनि निकै कम रहेको महाशाखाले जनाएको छ ।
‘यो कुनै नयाँ प्रणाली भित्रिएको होइन,’ मौसमविद् मानन्धरले भनिन्, ‘यो पहिलेकै पश्चिमी निम्न चापीय प्रणालीको थोरै प्रभाव हो ।’
तराईमा भने अहिले वर्षाको सम्भावना छैन। यस्तै काठमाडौंमा उपत्यकामा पनि आजलाई वर्षाको सम्भावना छैन । ‘तर आंशिक बदली (कहिले घाम कहिले बादल) भने हुने देखिन्छ,’ मौसमविद् मानन्धरले भनिन् । मंगलबार बिहान सवा ७ बजे काठमाडौं उपत्यकाको तापक्रम ४ डिग्री सेल्सियस रहेको छ ।
मौसम पूर्वानुमान महाशाखा